काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन्।
सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सडक तथा आवश्यक पूर्वाधार पुनःस्थापनाको काम सरकारले अघि बढाइरहेको जानकारी दिए।
उनका अनुसार तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार अवस्थामा छ। नाकातर्फको सडकसमेत सञ्चालनमा ल्याइसकिएको भए पनि चिनियाँ पक्षबाट अझै नाका खोल्ने अनुमति प्राप्त नभएको उनले बताए।
मन्त्री लम्सालले तातोपानी नाका सञ्चालनका विषयमा चिनियाँ पक्षसँग नियमित संवाद भइरहेको जानकारी दिँदै विपद्का कारण चीनले तत्काल नाका सञ्चालन गर्न अनिच्छा देखाएको बताए। उनले नाका चाँडै सञ्चालनमा ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गरे।
त्यस्तै, रसुवागढी नाका पुनः सञ्चालनका लागि पनि सरकारले आवश्यक योजना बनाइरहेको उनले बताए। चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको रसुवागढीलाई पुनः सञ्चालनमा ल्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ।
मन्त्री लम्सालले नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी र स्याटेलाइट सिटीका रूपमा विकास गर्ने सरकारको योजना रहेको समेत बताए। त्यसका लागि आवश्यक मास्टर प्लान तयार गर्ने काम अघि बढाइने उनले जानकारी दिए।






















प्रतिक्रिया