दसैँअघि नै रसुवाका बाढीपीडितलाई पुनःस्थापना गर्छौँ : मन्त्री लम्साल


काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रसुवाका बाढी प्रभावित नागरिकलाई दसैँअघि नै सुरक्षित स्थानमा पुनःस्थापना गर्नेगरी काम भइरहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थान पहिचानको काम भइरहेको जानकारी दिए।

बाढी प्रभावितलाई सकेसम्म दसैँअघि नै सुरक्षित स्थानमा पुनःस्थापना गरी चाडपर्वको वातावरण बनाउन सरकार केन्द्रित रहेको उनको भनाइ छ। त्यसका लागि स्थानीय तहसँग समन्वय गरेर आवश्यक जग्गा पहिचानको काम भइरहेको उनले बताए।

मन्त्री लम्सालले स्थानीय तह, विपद् व्यवस्थापन प्राधिकरण र सरकारमार्फत उपलब्ध गराइने राहत तथा क्षतिपूर्तिको समीक्षा गरी प्रभावितलाई समयमै उपलब्ध गराउने जानकारी दिए।

बैठकमा उनले त्रिशूली नदीमा तत्काल बेली ब्रिज निर्माणमा लम्बाइको समस्या रहेको पनि बताए। उनका अनुसार स्टकमा बेली ब्रिज उपलब्ध भए पनि त्रिशूली नदीमा जडान गर्न कम्तीमा १०० देखि १२२ मिटर लामो ब्रिज आवश्यक छ। त्यस्तो लम्बाइको ब्रिज तत्काल उपलब्ध नभएकाले विश्वभरका बेली ब्रिज उत्पादक कम्पनीसँग समन्वय गर्दा पनि हवाईमार्गबाट तुरुन्तै ल्याउन सकिने अवस्थामा स्टक नभेटिएको उनले बताए।

पछि आवश्यक बेली ब्रिजका लागि अर्डर दिइएको मन्त्री लम्सालले जानकारी दिए।

उनले बाढीबाट क्षति पुगेको क्षेत्रमा पुरानै ठाउँ र संरचनाअनुसार राजमार्ग निर्माण नगर्ने स्पष्ट पारे। सुरक्षित स्थान र जोखिमलाई ध्यानमा राखेर नयाँ अलाइनमेन्ट तथा फरक डिजाइन तयार गरी सडक निर्माण अघि बढाइने उनको भनाइ छ।