बदलाको कथा कि प्रेमको खेल ? विराज-वर्षाको ‘रेशमी रुमाल’ले खोल्यो ‘१२ गाउँ २’को लुकेको प्रेमकथा


काठमाडौं – अभिनेता विराज भट्टको निर्देशन तथा निर्माणमा तयार भएको चलचित्र ‘१२ गाउँ २’ प्रदर्शनको संघारमा पुगेसँगै यसको प्रचार सामग्रीले दर्शकको ध्यान खिचिरहेको छ। एक्सनप्रधान टिजरमार्फत चर्चा बटुलेको चलचित्रले पछिल्ला गीतमार्फत फिल्ममा प्रेम र भावनाको पाटो पनि बलियो रहेको संकेत गरिरहेको छ।

चलचित्रको प्रचार यात्रामा सार्वजनिक भएको ‘जुनेली’ पहिलो गीत थियो। सुगम पोखरेलको स्वर रहेको गीतमा समीर भट्ट र कृशु शाहीलाई प्रेमिल भावमा प्रस्तुत गरिएको थियो। गीतमा उनीहरूको नृत्यसँगै समीरको डान्स तथा ब्रेकडान्सले समेत चर्चा पाएको थियो।

त्यसपछि सार्वजनिक ‘लालीगुराँस’ले ‘१२ गाउँ २’को प्रेमकथालाई थप नजिकबाट प्रस्तुत गर्‍यो। एक्सनले भरिएको टिजरपछि फिल्ममा द्वन्द्व र बदलाको कथा मात्रै रहेको हुनसक्ने अनुमान भइरहेका बेला ‘लालीगुराँस’ले समीर र कृशुको प्रेमिल जोडीलाई केन्द्रमा राख्दै फिल्मको रोमान्टिक पक्ष पनि महत्वपूर्ण रहेको संकेत दिएको थियो।

यही क्रमलाई निरन्तरता दिँदै बुधबार चलचित्रको नयाँ गीत ‘रेशमी रुमाल’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा विराज भट्ट र वर्षा इटानीको जोडीलाई केन्द्रमा राखिएको छ। अघिल्ला प्रचार सामग्रीभन्दा फरक स्वाद दिने प्रयास गरिएको गीतले फिल्मभित्रको प्रेम र सम्बन्धको आयामलाई थप उजागर गरेको छ।

‘१२ गाउँ २’लाई मुख्यतः एक्सन फिल्मका रूपमा प्रस्तुत गरिए पनि सार्वजनिक भइरहेका गीतहरूले यसको कथामा प्रेम, भावना र पारिवारिक सम्बन्धको पाटो पनि महत्वपूर्ण रहेको देखाइरहेका छन्।

विशेषगरी ‘रेशमी रुमाल’को प्रस्तुतिले निर्माण पक्षले गीतलाई केवल प्रचार सामग्रीका रूपमा नभई कथाको भावनात्मक पक्षसँग जोड्ने प्रयास गरेको देखिन्छ। ‘जुनेली’ले समीर–कृशुको जोडीलाई दर्शकमाझ चिनाएको थियो भने ‘लालीगुराँस’ले उनीहरूको प्रेमलाई थप नजिकबाट देखाएको थियो। अब ‘रेशमी रुमाल’ले विराज र वर्षाको सम्बन्धलाई कथाको अर्को तहमा लैजाने संकेत गरेको छ।

फिल्मको मुख्य आकर्षण भने यसको एक्सन नै हो। टिजर सार्वजनिक हुँदा नै निर्माण पक्षले एक्सन, द्वन्द्व र बदलाको कथालाई प्राथमिकतामा राखेको स्पष्ट संकेत गरेको थियो। तर गीतहरू क्रमशः सार्वजनिक हुँदै जाँदा फिल्ममा एक्सनसँगै प्रेम, भावना र पारिवारिक सम्बन्धको कथा पनि जोडिएको देखिँदै गएको छ।

यसले फिल्मप्रतिको दर्शकको उत्सुकता थप बढाएको छ। एक्सनको अपेक्षा गरेर हल पुग्ने दर्शकले द्वन्द्वसँगै प्रेमकथा र भावनात्मक उतारचढाव पनि अनुभव गर्न पाउने संकेत चलचित्रका प्रचार सामग्रीले दिएका छन्।

चलचित्रमा विराज भट्ट, समीर भट्ट, कृशु शाही र वर्षा इटानीका अलावा अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय छ। यही चलचित्रबाट कृशु शाही (काफिया) र वर्षा इटानीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

दशैंको अवसर पारेर असोज ३० गते प्रदर्शनमा आउन लागेको ‘१२ गाउँ २’ले नेपाली फिल्मको सबैभन्दा ठूलो व्यावसायिक समय मानिने दशैंमा दर्शक तान्न एक्सनसँगै प्रेम, नयाँ पुस्ताका कलाकार र विराज भट्टको ब्रान्डलाई प्रमुख आधार बनाउने देखिन्छ।

चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

चलचित्रको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।