काठमाडौँ । युक्रेनमा रुसको युद्ध जारी रहेकै बेला अमेरिका र रुसबीच युरोपमा रुसी प्राकृतिक ग्यासको आपूर्ति पुनः सुरु गर्ने सम्भावनाबारे छलफल भइरहेको खुलेको छ। अमेरिकी र रुसी अधिकारीहरूले जर्मनीमा ग्यास पुर्याउने नर्ड स्ट्रिम पाइपलाइनमा अमेरिकी लगानी भित्र्याउने र युद्ध अन्त्य भएपछि त्यसबाट युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्ने सम्भावनाबारे छलफल गरेको स्रोतहरूले बताएका छन्।
रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुसनर र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी किरिल दिमित्रिएभबीच यस विषयमा छलफल भएको हो। यसबारे जानकार पाँच जनाले कुसनर र दिमित्रिएभबीच पछिल्ला सातामा मस्को र न्युयोर्कमा भेटवार्ता भएको बताएका छन्।
युक्रेन युद्ध अन्त्यका लागि वार्तामा संलग्न कुसनरले आर्थिक तथा व्यापारिक सहकार्यलाई शान्ति कायम गर्ने माध्यमका रूपमा अघि बढाउन खोजिरहेको बताइएको छ। प्रस्तावित योजनामा अमेरिकी लगानीकर्ताले युरोपतर्फ जाने रुसी ग्यासबाट आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको स्रोतहरूको भनाइ छ।
यद्यपि नर्ड स्ट्रिम पुनः सञ्चालनको विषयमा ठूलो कानुनी र राजनीतिक चुनौती देखिएको छ। पाइपलाइनमाथि अमेरिका र युरोपेली संघका प्रतिबन्ध कायम छन्। ती प्रतिबन्ध हटाइएन भने पाइपलाइन पुनः सञ्चालन गर्न कानुनी समस्या हुने अमेरिकी अधिकारीहरूले बताएका छन्। एक अमेरिकी अधिकारीले यस्तो सम्झौता भए अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) र अमेरिकी अर्थ मन्त्रालयसँग रुसले वार्ता गर्नुपर्ने तथा त्यसबाट अमेरिकी करदाता र कम्पनीलाई लाभ हुनुपर्ने बताएका छन्।
जर्मनी नर्ड स्ट्रिम खोल्ने पक्षमा छैन
युरोपको सबैभन्दा ठूलो ऊर्जा उपभोक्ता जर्मनी भने नर्ड स्ट्रिम पुनः सञ्चालन गर्ने पक्षमा देखिएको छैन। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि जर्मनीले आफ्नो आधाभन्दा बढी ग्यास रुसबाट आयात गर्दै आएको थियो। युद्ध सुरु भएपछि रुसी ग्यास आपूर्ति घटेको थियो भने सोही वर्ष सेप्टेम्बरमा बाल्टिक सागरमुनि भएका विस्फोटबाट नर्ड स्ट्रिम पाइपलाइनमा क्षति पुगेको थियो।
जर्मन अर्थ तथा ऊर्जा मन्त्रालयले रुसी ग्यास र नर्ड स्ट्रिममाथि युरोपेली प्रतिबन्ध रहेको तथा जर्मनीले वैकल्पिक ऊर्जा स्रोतको व्यवस्था गरिसकेको जनाएको छ। पाइपलाइन पुनः सञ्चालनका लागि सरकारी स्वीकृति आवश्यक पर्ने र हाल सरकार त्यसको पक्षमा नरहेको मन्त्रालयको भनाइ छ।
युरोपमा बढ्न सक्छ राजनीतिक विवाद
रुससँग ऊर्जा सम्बन्ध पुनः जोड्ने सम्भावनाले युरोपमा राजनीतिक विवाद बढाउन सक्ने देखिएको छ। जर्मनीसहित पोल्यान्ड र बाल्टिक देशहरू रुससँग ऊर्जा सम्बन्ध पुनः स्थापित गर्ने विषयमा विशेष रूपमा सावधान छन्। उनीहरूले रुसी ऊर्जामाथि पुनः निर्भरता बढ्दा सुरक्षा जोखिम निम्तिन सक्ने चिन्ता व्यक्त गर्दै आएका छन्।
जर्मनीको वर्तमान सरकार नर्ड स्ट्रिम पुनः सञ्चालनको विपक्षमा रहे पनि दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) रुसी ग्यास पुनः आयात गर्ने पक्षमा रहेको रोयटर्सले जनाएको छ। दिमित्रिएभले आगामी वर्ष एएफडी नेतृत्वसँग समेत यस विषयमा छलफल गर्ने तयारी गरेको स्रोतहरूले बताएका छन्।
लुकओइलको सम्पत्तिबारे पनि छलफल
कुसनर र दिमित्रिएभबीच रुसी ऊर्जा कम्पनी लुकओइलका युरोप तथा अन्य क्षेत्रमा रहेका सम्पत्ति बिक्री गर्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ। सम्भावित योजनाअनुसार अमेरिकी डीएफसी तथा कतार र संयुक्त अरब इमिरेट्सका लगानीकर्ताको समूहले लुकओइलका रिफाइनरी, पेट्रोल पम्पलगायत सम्पत्ति खरिद गर्न सक्नेछ। त्यसका लागि अमेरिकी प्रतिबन्ध हटाउने विषय पनि छलफलमा रहेको स्रोतहरूले बताएका छन्।
नर्ड स्ट्रिम सञ्चालन गर्ने कम्पनीमा रुसी सरकारी ऊर्जा कम्पनी गाजप्रोमको ५१ प्रतिशत स्वामित्व छ। बाँकी हिस्सामा जर्मनी, फ्रान्स र नेदरल्यान्ड्सका कम्पनीहरूको स्वामित्व रहेको बताइएको छ। स्वामित्व र प्रतिबन्धसम्बन्धी जटिलताका कारण पाइपलाइन पुनः सञ्चालनको योजना तत्काल कार्यान्वयन हुने सम्भावना भने न्यून रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।




















प्रतिक्रिया