एमाले वरिष्ठ नेता बनेकी भण्डारीले लिइन् ओलीबाट शपथ


काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट वरिष्ठ नेताको शपथ लिएकी छन्।

पार्टी मुख्यालय च्यासलमा ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि अध्यक्ष ओलीले भण्डारीलाई वरिष्ठ नेताको शपथ गराएका हुन्।

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो। वरिष्ठ नेतामा मनोनीत भएपछि उनी पहिलो पटक औपचारिक रूपमा पार्टी बैठकमा सहभागी भएकी हुन्।

भण्डारी राष्ट्रपति बनेपछि लामो समय एमालेका औपचारिक गतिविधिबाट बाहिर रहेकी थिइन्। राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि उनी पुनः एमाले राजनीतिमा सक्रिय हुँदै आएकी छन्।

भण्डारीको शपथपछि च्यासलमा एमाले स्थायी कमिटीको पहिलो बैठक सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने बताइएको छ।