पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ माझठानमा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। शुक्रबार बिहान भएको दुर्घटनामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू ट्युसन पढ्न जाने क्रममा दुर्घटनामा परेका हुन्।
कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार दुर्घटनाग्रस्त बसमा २१ जना विद्यार्थी, चालक र अन्य यात्रुसहित कुल २५ जना सवार थिए। पोखरा–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा मृत्यु हुनेमध्ये ममता तिवारी, अशिम कँडेल र पोखरा–२८ का ६५ वर्षीय बाबुराम तिवारीको पहिचान खुलेको छ। अस्पतालले उनीहरूलाई बिहान ८ः३५ बजे मृत घोषणा गरेको जनाएको छ। बाँकी दुई मृतकको पहिचान खुल्न बाँकी छ। बाबुराम तिवारी उपचारका लागि लिफ्ट मागेर बसमा चढेका यात्रु रहेको बताइएको छ।
दुर्घटनामा घाइते भएकामध्ये अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ। उनको टाउको र ढाडमा चोट लागेको छ। अन्य घाइते विद्यार्थी तथा चालकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइते हुनेमा स्नेहा गौतम, सोनिया तिवारी, अंकित पराजुली, स्मृती खत्री, स्नेहा तिवारी, आकृती बुढाथोकी, मेरिना तिवारी, सुप्रिया आचार्य, यमन मगर र सृष्टि तिवारीलगायत छन्। बस चालक तुलबहादुर गुरुङ पनि घाइते भएका छन्। उद्धारमा खटिएकी प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएकी छन् र उनको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा घाइते भएका विद्यार्थीहरूको टाउको, ढाड, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

















प्रतिक्रिया