सुनको अवैध कारोबारमा चीनबाटै ‘रिमोट कन्ट्रोल’


काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालमा बरामद भएको करिब २२ किलो सुनको अवैध कारोबार चीनबाटै निर्देशित हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लेले नेपालमा रहेका आफ्ना समूहका सदस्यलाई वीच्याटमार्फत सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको स्थानमा पुर्‍याउने निर्देशन दिने गरेको खुलेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी माथिल्लो भंगालस्थित एक घरबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद भएको जानकारी दिएको छ। प्रहरीले बिहीबार चिनियाँ नागरिकले भाडामा लिएको उक्त घरमा छापा मारेर सुन बरामद गरेको थियो।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिएको उक्त सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले भाडामा लिएको घरमा ल्याइने लेसिलो तथा अर्धप्रशोधित सुनलाई प्रशोधन गरी तयार पार्ने र त्यसपछि तोकिएको स्थानमा पुर्‍याउने गरेका थिए। नेपालमा सुन कहाँ पुर्‍याउने र कसलाई बुझाउने भन्ने निर्देशन झेनले वीच्याटमार्फत दिने गरेको पक्राउ परेकाहरूले बताएका छन्।

अनुसन्धानका क्रममा सुन प्रशोधनका लागि प्रयोग गरिएको घरको भाडा र अग्रिम भुक्तानीसम्बन्धी विवरणसमेत खुलेको छ। उक्त घर चिनियाँ नागरिक सु क्यानले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको पाइएको प्रहरीले जनाएको छ। उनले चार महिनाको भाडाबापत १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेका थिए।

प्रहरीले बरामद सुनको स्रोत, नेपालमा सक्रिय समूहको संरचना तथा कारोबारमा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान गरिरहेको छ। चीनमा रहेका भनिएका व्यक्तिबाट निर्देशन लिएर नेपालमा सुन प्रशोधन तथा ओसारपसार हुने गरेको विवरणले यस प्रकरणमा अन्तरदेशीय सञ्जालको सम्भावित भूमिकाबारे अनुसन्धान अघि बढाएको छ।