नेपालीको महान् पर्व दसैँमा अस्ट्रेलियाका प्रधानमन्त्रीको शुभकामना सन्देश


काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई दसैँको शुभकामना दिँदै बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाएका छन् ।

यस वर्षको दसैँ नेपाल र विश्वभर रहेका नेपाली समुदायका लागि दुःखद परिस्थितिबीच आएको उल्लेख गर्दै उनले विपद्बाट प्रभावित समुदायलाई पुनःस्थापना र पुनर्निर्माणका क्रममा अस्ट्रेलियाले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वक्तव्य जारी गर्दै प्रधानमन्त्री अल्बानिजले परिवार, साथीभाइ र समुदायसँग मिलेर दसैँ मनाइरहेका अस्ट्रेलियास्थित नेपालीहरूलाई हार्दिक शुभकामना दिएका छन् । सामान्यतया दसैँ पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको समृद्ध परम्परा र संस्कृतिको सम्मान गर्ने पर्व भए पनि यस वर्ष बाढीका कारण धेरै नेपालीले गहिरो दुःखको सामना गर्नुपरेको उनले उल्लेख गरेका छन् ।

‘बाढीले ठूलो विनाश निम्त्याएपछि त्यसबाट उत्पन्न दुःखको भार तपाईंहरूले एक्लै बोक्नुपर्दैन । हामी तपाईंहरूको समुदायसँग निरन्तर साथमा छौँ र आगामी महिनाहरूमा पुनःस्थापना तथा पुनर्निर्माणका काममा पनि साथ दिइरहनेछौँ,’ अल्बानिजले भनेका छन् ।

दसैँलाई खराबमाथि असलको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै उनले नेपाली समुदायलाई वरपरका मानिसहरूको सद्भावबाट सान्त्वना लिन र अस्ट्रेलियाली समाजमा रहेको करुणा, उदारता तथा एकताको भावनाबाट शक्ति प्राप्त गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री अल्बानिजले आपत्कालीन सहयोगका लागि आर्थिक योगदान गर्ने हजारौँ व्यक्ति तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउन सामूहिक प्रार्थना र श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका परिवारहरूको पनि प्रशंसा गरेका छन् ।

उनले यस दसैँले सबैमा सान्त्वना, शक्ति र आशीर्वादका क्षणहरू ल्याओस् भन्दै असलको विजयको भावनाले सबैलाई एकताबद्ध बनाइराख्ने कामना गरेका छन् ।