काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति चयन गर्न सुझाव दिएका छन् । उनले अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नीतिलाई दोष दिएका छन् ।
शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनलाई रुससँग सम्झौता गर्न सक्ने नयाँ नेतृत्व आवश्यक रहेको बताए । जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने अवसर पटक–पटक आए पनि उनले त्यसको सदुपयोग नगरेको ट्रम्पको आरोप छ ।
‘म यस्तो नेता चयन गर्न सुझाव दिन्छु, जसले सम्झौता गर्न सक्छ,’ ट्रम्पले भनेका छन् । उनले आफू सन् २०२२ मा अमेरिकी राष्ट्रपति भएको भए रुस–युक्रेन युद्ध सुरु नै नहुने दाबीसमेत गरेका छन् ।
रुससँग डिजेल खरिद गर्ने सहमतिपछि विवाद
ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग रुसबाट डिजेल आपूर्ति गर्ने सहमति भएको घोषणा गरेका थिए । अमेरिकामा बढ्दो इन्धन मूल्य कम गर्ने उद्देश्यले गरिएको भनिएको यस सहमतिअन्तर्गत रुसी डिजेलको निर्यात सहज बनाउन अमेरिकी प्रतिबन्धमा छुट दिइएको छ । यसले रुससँगको अमेरिकी ऊर्जा नीतिमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ ।
ट्रम्पले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा इन्धन आपूर्तिमा असर परेको र त्यसले अमेरिकी किसान, पशुपालक तथा अन्य व्यवसायीलाई समस्या पारेको दाबी गरेका छन् । उनले जेलेन्स्कीलाई रुसी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न पनि दबाब दिँदै आएका छन् ।
तर, अमेरिकामा डिजेल महँगिनुको कारण युक्रेनको आक्रमण मात्रै होइन । मध्यपूर्वको तनाव र इरानसँग सम्बन्धित युद्धका कारण विश्व ऊर्जा बजारमा परेको दबाब पनि मूल्यवृद्धिको महत्त्वपूर्ण कारण हो । ऊर्जा क्षेत्रका विज्ञहरूले रुसबाट थप डिजेल आयात गर्दैमा अमेरिकी बजारमा मूल्य उल्लेख्य रूपमा घट्ने निश्चित नभएको बताएका छन् ।
जेलेन्स्की र युरोपको असन्तुष्टि
रुसबाट डिजेल खरिद गर्ने अमेरिकी निर्णयप्रति जेलेन्स्कीले असन्तुष्टि जनाएका छन् । उनले रुसलाई पेट्रोलियम पदार्थ बिक्री गर्न सहज बनाउँदा युद्ध सञ्चालनका लागि थप आम्दानी प्राप्त हुने र यसले मस्कोमाथिको दबाब कमजोर पार्ने तर्क गरेका छन् ।
रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि अमेरिका र उसका युरोपेली सहयोगीहरूले मस्कोमाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाएका थिए । यस्तो अवस्थामा रुसी डिजेल निर्यातलाई सहज बनाउने निर्णयले अमेरिका–युक्रेन सम्बन्ध र रुसमाथिका प्रतिबन्धको प्रभावकारिताबारे नयाँ बहस सिर्जना गरेको छ ।
ट्रम्पको पछिल्लो अभिव्यक्तिले युद्ध अन्त्य गर्ने उपाय, युक्रेनको नेतृत्व र इन्धन मूल्यवृद्धिको जिम्मेवारीबारे अमेरिका र युक्रेनबीचको मतभेद थप सतहमा ल्याएको छ ।

















प्रतिक्रिया