कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बैंक रोडमा बजार अनुगमनका क्रममा एक व्यवसायीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
प्रहरीले चामल बोकेको पिकअप नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार पठाएपछि गल्ला पसल सञ्चालक महेश अग्रहरीले आत्मदाहको प्रयास गरेको बताइएको छ।
स्थानीयका अनुसार आफू अन्यायमा परेको भन्दै अग्रहरीले शरीरमा मट्टितेल छर्केर आगो लगाउन खोजेका थिए। प्रहरीले तत्कालै उनलाई रोकेको थियो। शरीरमा आगो नलागे पनि मट्टितेलको असर देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
मुटुसम्बन्धी समस्या रहेको जानकारी पाएपछि थप उपचारका लागि उनलाई रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले बताएका छन्।
घटना आज बिहान करिब ११ बजे भएको हो। अग्रहरीले ल्याएको ६० बोरा चामलको बिलबिजक रहेको दाबी गरे पनि अनुगमन टोलीले आवश्यक कागजात नभेटिएको भन्दै चामल नियन्त्रणमा लिएर भन्सार पठाएको थियो।
भन्सार पठाइएपछि जरिवाना तिर्नुपर्ने त्रासमा अग्रहरीले आवेगमा आएर आत्मदाहको प्रयास गरेको डीएसपी सिंहले बताएका छन्।
प्रहरीका अनुसार आगो लाग्नुअघि नै अग्रहरीलाई जोगाइएको थियो। उपचाररत उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया