जेलबाट भागेका न्यायाधीश बम हत्या प्रकरणका दोषी बाबु थापा आफ्नै घरबाट पक्राउ, साथबाट पेस्तोल र गोली बरामद


काठमान्डौ – सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुधबार राति बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको आफ्नै घरबाट उनलाई पक्राउ गरिएको हो। सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार थापा घरमा आएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो।

थापा पक्राउ पर्दा उनको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोलीसमेत बरामद भएको एसपी पौडेलले बताए। बरामद हातहतियारका सम्बन्धमा उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

थापा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए। त्यसपछि उनी नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार थापाले भेष बदलेर बस्ने र आवश्यक पर्दा अरू व्यक्तिको मोबाइल प्रयोग गरी सम्पर्क गर्ने गरेका थिए। यही सूचनाका आधारमा प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भएका थापा कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। सर्लाहीबाट पुनः पक्राउ परेसँगै उनीमाथि हातहतियारसम्बन्धी कसुरमा थप कानुनी प्रक्रिया अघि बढ्ने भएको छ।