काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले संसदमा कानुन निर्माणका लागि प्रभावकारी छलफल हुन नसकेको बताएकी छन् । पुराना कानुनका आधारमा काम गर्नुपर्दा विभिन्न नीतिगत अड्चनहरू देखिने गरेको उल्लेख गर्दै उनले कानुन निर्माण प्रक्रियामा पर्याप्त बहस र छलफल आवश्यक रहेकोमा जोड दिएकी हुन् ।
बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा ओलीले संसदमा विधेयकमाथि हुने छलफललाई थप प्रभावकारी बनाउनुपर्ने बताइन् । उनका अनुसार कानुन निर्माणका क्रममा प्रतिपक्षी सांसदहरूले पेस गरेका संशोधनहरू अस्वीकृत हुने संसदीय अभ्यास रहे पनि सत्तापक्षका सांसदहरूले पेस गरेका संशोधनसमेत अस्वीकृत हुने अवस्था देखिएको छ ।
यस्तो अवस्थामा सदनमा पर्याप्त छलफल गरेर सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यका माध्यमबाट विधेयकलाई परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । कानुन निर्माण कुनै एक पक्षको मात्र जिम्मेवारी नभई सबै पक्षको सहभागिता र छलफलबाट प्रभावकारी बनाउनुपर्ने उनले बताइन् ।
ओलीले विधेयकमाथि छलफलका लागि पर्याप्त समय उपलब्ध गराउनुपर्ने धारणा पनि राखिन् । सामान्यतया दुईदेखि तीन मिनेटमै हतारमा विषय टुङ्ग्याउने वा एकै दिनमा चारदेखि पाँचवटा विधेयकमाथि सतही छलफल गर्ने परिपाटीले कानुनका विषयवस्तुमाथि गहिरो बहस हुन नसक्ने उनको भनाइ छ ।
उनले विधेयकका प्रावधान, त्यसले पार्ने प्रभाव र आवश्यक संशोधनबारे सांसदहरूलाई पर्याप्त छलफल गर्ने अवसर दिनुपर्ने बताइन् । सत्तापक्ष र प्रतिपक्षबीच संवाद तथा सहकार्य बढाएर कानुन निर्माण प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा उनले जोड दिइन् ।
















प्रतिक्रिया