‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, बाइक राइडर बने दीपकराज गिरी, दुई महिलाको गर्भवती भएपछि बढ्यो तनाव


काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र प्रदर्शनमा आउन तीन दिन बाँकी रहँदा बुधबार साँझ ९ बजे ज्योतिषले दिएको साइतमा चार मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तुबारे संकेत गरेको छ। विशेषगरी विवाहेत्तर सम्बन्ध, पारिवारिक उल्झन र त्यसबाट उत्पन्न परिस्थितिलाई कथाको केन्द्रमा राखिएको देखिन्छ।

ट्रेलरमा दीपकराज गिरी बाइक राइडरको भूमिकामा देखिएका छन् भने केकी अधिकारी उनकी श्रीमतीको भूमिकामा छिन्। चिकित्सकले केकीबाट सन्तान नहुने बताएपछि दीपकराज सनिशा भट्टराईसँग नजिकिन्छन्। तर, कथाले अप्रत्याशित मोड लिन्छ, जब केकी र सनिशा दुवै गर्भवती हुन्छन्। त्यसपछि दीपकराजले कसरी परिस्थिति सम्हाल्छन् भन्ने कौतूहल ट्रेलरले सिर्जना गरेको छ।

यद्यपि, चार मिनेट लामो ट्रेलरमा कथाका महत्त्वपूर्ण घटनाक्रम देखाइए पनि दर्शकलाई तत्काल आकर्षित गर्ने पञ्चलाइन भने अपेक्षाकृत कम देखिन्छ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, निर्मल शर्मा, कर्मा, जितु नेपाल, रिहान गिरी, रवीन्द्र झा, रमा थपलिया र मेक्सम गौडेललगायत कलाकारको अभिनय छ। दुई साताअघि अमेरिकाबाट नेपाल आएका केदार घिमिरे ‘माग्ने बुढा’ले पनि चलचित्रमा अभिनय गरेका छन्।

रोहित अधिकारी निर्माता रहेको चलचित्र असोज ३१ गतेदेखि प्रदर्शनमा आउनेछ। रोहितले यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’, ‘फर्की फर्की’ र ‘माइतीघर’जस्ता चलचित्र निर्माण गरिसकेका छन्। दीपक–दीपासँग उनको यो दोस्रो सहकार्य हो।

चलचित्रमा दीपकराज गिरीकै लेखन रहेको छ भने निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता छन्।