कारागारमा कैदी भेट्न पुगेकी महिलाबाट ४८० थान लागुऔषध फेला


विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा कैदी भेट्न आएका दुई महिलाको साथबाट ४८० थान शंकास्पद लागुऔषध बरामद भएको छ।

बुधबार विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङले भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र ट्याब्लेट लुकाएर ल्याएका थिए। जाँचका क्रममा उनीहरूको साथबाट हरियो रङका २४० थान र सुन्तला रङका २४० थान गरी कुल ४८० थान ट्याब्लेट फेला परेको हो।

बरामद ट्याब्लेटसहित दुवै महिलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दिउँसो १२ः५० बजे कारागारमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको छ।

बरामद ट्याब्लेट कुन प्रकारका हुन् भन्नेबारे भने खुलाइएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।