काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका पाकिस्तानी टी–२० टोलीका कप्तान साहिब्जादा फरहान प्रतियोगिता सुरु हुनुअघि नै स्वदेश फर्किएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले राष्ट्रिय जिम्मेवारीका लागि तत्काल फर्किन इमेल पठाएपछि उनी पाकिस्तान गएका हुन्।
कर्णाली याक्समा आबद्ध फरहान आवश्यक अनापत्ति पत्र (एनओसी) पाएपछि नेपाल आएका थिए। तर, प्रतियोगिता सुरु हुनुअघि पीसीबीले नयाँ सर्त अघि सार्दै पाकिस्तानी खेलाडीहरूको एनओसी रोकिदिएको छ। पीसीबीले प्रत्येक खेलाडीसँग २५ हजार अमेरिकी डलर अतिरिक्त रकम मागेको र उक्त रकम नदिए एनओसी नदिने वा जारी भइसकेको एनओसीसमेत रद्द गर्ने चेतावनी दिएको स्रोतको भनाइ छ।
यस विषयमा नेपाल क्रिकेट संघ (क्यान) र पीसीबीबीच संवाद जारी रहे पनि सहमति जुट्न सकेको छैन। पीसीबीले आफ्नो अडान नछाडेका कारण एनपीएलमा सहभागी पाकिस्तानी खेलाडीहरूको सहभागिता अझै अनिश्चित बनेको छ।
३१ तारिखपछि नेपाल आउने सम्भावना
फरहानलाई पाकिस्तानमा जारी श्रीलंका र इंग्ल्यान्ड सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि टोलीमा समावेश गरिएपछि उनी स्वदेश फर्किएका हुन्। उक्त शृङ्खलाका क्रममा ओपनर साइम अयुबको स्थानमा फरहानलाई टोलीमा राखिएको थियो।
एनपीएल खेल्न उत्साहित भएर नेपाल आएका फरहान प्रतियोगिता सुरु हुनुअघि नै फर्कनुपर्दा निराश बनेको कर्णाली याक्स स्रोतले जनाएको छ। उनले विमानस्थलमा आफ्नो फोटो तथा भिडियो नखिच्नसमेत आग्रह गरेका थिए।
यद्यपि, फरहानले अक्टोबर ३१ पछि एनपीएल खेल्न नेपाल आउने वाचा गरेको स्रोतको दाबी छ। पीसीबीले मागेको अतिरिक्त रकम आफ्नो पारिश्रमिकबाट कटौती गर्नसमेत उनी तयार रहेको बताइएको छ।
‘उहाँ रकममा सम्झौता गर्न पनि तयार हुनुहुन्छ। त्यसैले सम्भवतः ३१ तारिखपछि आउनुहुन्छ होला,’ स्रोतले भन्यो।
नेपालमा दुई रात बिताएका फरहान एक दिन कर्णाली याक्सको प्रशिक्षणमा सहभागी भएका थिए। पहिलोपटक नेपाल आएका उनी यहाँको बसाइप्रति उत्साहित रहेको बताइएको छ।
फरहान पाकिस्तान फर्किए पनि कर्णाली याक्समै आबद्ध अर्का पाकिस्तानी खेलाडी हुसेन तलात भने नेपालमै छन्। उनले कर्णाली याक्सको खेलमा सहभागिता जनाउने सम्भावना रहेको छ।
क्यान र पीसीबीबीच संवाद जारी
कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले क्यान र पीसीबीबीच संवाद जारी रहेकाले पाकिस्तानी खेलाडीहरूले एनपीएल खेल्ने विषयमा आफूहरू अझै आशावादी रहेको बताएका छन्।
पीसीबीले अतिरिक्त रकम मागेको विषयमा सहमति जुटेमा पाकिस्तानी खेलाडीहरूको सहभागिताको बाटो खुल्न सक्ने अपेक्षा गरिएको छ। तर, वार्ता टुंगोमा नपुगेकाले उनीहरूको सहभागिता र फरहानको नेपाल आगमनबारे अन्तिम निर्णय भइसकेको छैन।

















प्रतिक्रिया