चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणले अपेक्षित गति लिन सकेको छैन । आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म ६५ प्रतिशत मात्रै काम सकिएको छ । बजेट निकासामा ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि र प्राविधिक समस्याका कारण तोकिएको समयमा रंगशाला निर्माण सम्पन्न हुने सम्भावना कमजोर बनेको छ ।
भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बागमती प्रदेश सरकारबाट बजेट निकासा हुन ढिलाइ हुँदा निर्माण कम्पनीले बीचमा काम रोकेको थियो । रंगशाला निर्माणका लागि महानगरपालिकाले ७० प्रतिशत खर्च प्रदेश सरकारले र बाँकी ३० प्रतिशत महानगरले व्यहोर्ने गरी सम्झौता गरेको छ । बजेट निकासामा भएको ढिलाइले निर्माण प्रभावित भएको पोखरेलले बताए ।
निर्माण कम्पनीले पनि काममा ढिलाइ गरेको उनको भनाइ छ । त्यसैले सम्झौताअनुसार पुस मसान्तसम्म निर्माण सम्पन्न हुने अवस्था देखिएको छैन ।
निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालले निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा काम गर्नुपर्दा विभिन्न समस्या आएको बताए । पुरानै संरचनामा निर्माण गर्नुपर्ने भएकाले प्राविधिक निर्णयहरूमा समेत अन्योल र असहमति देखिँदा काम प्रभावित भएको उनको भनाइ छ ।
मैदानको काम मुख्य चुनौती
रंगशालाको मुख्य मैदान निर्माणको काम अझै बाँकी छ । भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार मैदानमा चार तह माटो राखेर त्यसमा पाइप जडान गर्न बाँकी छ । त्यसपछि नरम माटो राखेर बरुणा नामको घाँस रोपिनेछ ।
रंगशालाका दुईवटा टावरको निर्माण अन्तिम चरणमा पुगेको छ । चारवटा प्यारापिटमध्ये दुईवटाको काम सम्पन्न भइसकेको छ भने तेस्रो प्यारापिटको ९० प्रतिशत र चौथोको ७० प्रतिशत काम सकिएको छ । विद्युत् जडानको काम पनि बाँकी छ ।
आचार्यका अनुसार निर्माण कम्पनीले नियमित रूपमा काम गरेमा बाँकी काम सम्पन्न गर्न धेरै समय लाग्ने छैन । हाल दैनिक करिब ८० जना कामदार निर्माणमा खटिएका छन् । दसैँको समयमा समेत निर्माण कार्य जारी रहेको उनले जानकारी दिए ।
लागत बढेर ८६ करोड रुपैयाँभन्दा बढी
निर्माण अवधि सकिन लाग्दा रंगशालाको पहिलो भेरिएसन अर्डर (भिओ) असोज २८ गते स्वीकृत भएको छ । सुरुमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएकोमा अहिले लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
लागत वृद्धि हुनुका साथै निर्माण गर्नुपर्ने कामसमेत थपिएकाले निर्धारित समयमै आयोजना सम्पन्न गर्न कठिन भएको निर्माण कम्पनीको भनाइ छ ।
सम्झौता सकिनुभन्दा ३५ दिनअघि म्याद थपका लागि निवेदन दिनुपर्ने व्यवस्था रहेकाले निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग समय थप माग्ने तयारी गरेको छ ।
धुर्मुस–सुन्तलीबाट महानगरको जिम्मामा आएको आयोजना
धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण निर्माण अघि बढाउन नसक्ने जनाउँदै आयोजनाको दायित्व महानगरपालिकालाई सुम्पिएपछि रंगशाला लामो समय अलपत्र अवस्थामा रहेको थियो । त्यसपछि भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण अघि बढाइएको हो ।
महानगरपालिकाले प्रदेश सरकारको ७० प्रतिशत र आफ्नो ३० प्रतिशत लगानी सुनिश्चित गर्दै २०८१ असार २४ गते हिमालयन–कालिञ्चोक बीबीआर जेभीसँग निर्माण सम्झौता गरेको थियो ।
अन्तर्राष्ट्रिय खेलको प्रतीक्षामा भरतपुर
चितवनमा राष्ट्रियस्तरको क्रिकेट क्लब चितवन राइनोज रहेको र नेपाल प्रिमियर लिग (एनपीएल)प्रति दर्शकको आकर्षण बढ्दै गएकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छिटो सम्पन्न गर्नुपर्ने दबाब बढेको छ । रंगशाला निर्माण पूरा भएपछि भरतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने अपेक्षा गरिएको छ ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले महानगरका तर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरण गर्न आफूहरू तयार रहेको बताए । गत आर्थिक वर्षमा भुक्तानीमा केही ढिलाइ भए पनि अन्य काममा महानगरले सहजीकरण गरिरहेको उनको भनाइ छ ।
“रंगशाला छिटो सम्पन्न गर्न हामीले निर्माण कम्पनीलाई भनिरहेका छौँ, अब धेरै ढिलो हुँदैन,” अधिकारीले भने ।
देशभर क्रिकेटप्रतिको आकर्षण बढिरहेका बेला रंगशाला निर्माणमा भएको ढिलाइले भरतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने योजनालाई प्रभावित पार्न सक्ने देखिएको छ । निर्धारित समयमा काम पूरा नहुने अवस्था देखिएसँगै अब निर्माणको म्याद थपिने वा निर्माण कार्यले गति लिएर समयमै सम्पन्न हुने भन्ने विषय चासोको विषय बनेको छ ।

















प्रतिक्रिया