लोकतन्त्रको रक्षा र परिवर्तनमा तरुणको भूमिका महत्वपूर्णः महामन्त्री पौडेल


तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

लोकतन्त्र सङ्कटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै उनले पार्टीको सङ्गठन सुदृढीकरण र रूपान्तरणमा पनि युवाहरूले सिर्जनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल तनहुँले शनिबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले तरुण दललाई नेपाली कांग्रेसको मेरुदण्डको संज्ञा दिए ।

लोकतान्त्रिक आन्दोलन तथा लोकतन्त्रको रक्षाका लागि तरुणहरूले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउँदै उनले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको संरक्षणमा युवाहरू सक्रिय हुनुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसले तरुण तथा युवा पुस्तालाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र युवाहरूको प्रतिनिधित्व बढ्दै गएको बताए । उनले कांग्रेसको रूपान्तरणका लागि तरुणहरू सङ्गठन विस्तारमा मात्र सीमित नभई नयाँ सोच, विचार र सिर्जनात्मक कार्यक्रममार्फत पार्टीलाई जनतासँग जोड्नुपर्नेमा जोड दिए ।

पार्टीभित्र भइरहेका सुधारका प्रयास र परिवर्तनलाई जनतासमक्ष पुर्‍याउनुपर्ने उनको भनाइ थियो । पार्टीमा भएका सकारात्मक परिवर्तनबारे जनतालाई बुझाउन सके कांग्रेसप्रतिको विश्वास थप बलियो बनाउन सहयोग पुग्ने पौडेलले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चिनु पोख्रेलले पार्टीभित्र एकताको आवश्यकता औँल्याइन् । त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य जगदीशचन्द्र पोख्रेल र दीपक भट्टराईलगायतले तरुण दलको भूमिका तथा पार्टी सङ्गठनको सुदृढीकरणबारे धारणा राखेका थिए ।