काठमाडौँ । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । दूतावासले विशेष सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको हो ।
दूतावासले जारी गरेको पाँचबुँदे अनुरोधमा साउदी अरेबियाका आधिकारिक निकायबाट जारी हुने सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न भनिएको छ । विशेषगरी सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला बाहिर ननिस्कन नेपाली नागरिकलाई आग्रह गरिएको छ ।
दूतावासले सामाजिक सञ्जाल प्रयोग गर्दा पनि विशेष सावधानी अपनाउन सचेत गराएको छ । साउदी अरेबियाका आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, तस्बिर तथा भिडियो अरूलाई नपठाउन र फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न अनुरोध गरिएको छ ।
त्यस्तै, हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई आफ्नो उडानको अवस्थाबारे जानकारी लिएर मात्र विमानस्थल जान दूतावासले सुझाव दिएको छ । साउदी अरेबियाबाट नेपाल वा अन्य कुनै देशको यात्रा गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट उडानको निर्धारित तालिका परिवर्तन भए–नभएको यकिन गर्न भनिएको छ ।
सुरक्षा अवस्था वा अन्य कुनै कारणले सहयोग आवश्यक परेमा नेपाली नागरिकले रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा तत्काल सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ ।
दूतावासले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न, अपुष्ट सूचना फैलिन नदिन र आफ्नो सुरक्षामा विशेष ध्यान दिन साउदी अरेबियामा रहेका नेपालीलाई आग्रह गरेको छ ।


















प्रतिक्रिया