चितवनको कप्तानीबाट कुशल आउट, विराटनगरविरुद्ध राइनोजको ब्याटिङ धर्मरायो


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजको कप्तानी परिवर्तनसँगै टोलीको रणनीतिमाथि प्रश्न उठेको छ। पहिलो र दोस्रो संस्करणमा टोलीको नेतृत्व गरेका कुशल मल्ल यसपटक विराटनगर किंग्सविरुद्धको खेलमा प्लेइङ–११ मै अटाएनन्। उनको स्थानमा रवि बोपाराले चितवनको कप्तानी सम्हालेका छन्।

के चितवनलाई अब कुशल मल्लको आवश्यकता छैन? कि टोलीले नयाँ रणनीतिअनुसार उनलाई बाहिर राखेको हो? कुशल प्लेइङ–११ मा नपर्नुको कारण भने खुलेको छैन।

उता, विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरेका छन्। टस जितेर पहिले बलिङ रोजेको विराटनगरले चितवनलाई दबाबमा राखेको छ।

टस हारेपछि चितवनका कप्तान बोपाराले पछिल्ला नौ खेलमा लगातार टस हारेको बताएका थिए। उनले पहिले ब्याटिङ गर्दै राम्रो स्कोर बनाउने र त्यसलाई जोगाउने रणनीति सुनाएका थिए।

तर, चितवनको ब्याटिङले अपेक्षित लय समात्न सकेन। अहिले टोलीले १२ओभरमा ८७ रन बनाउँदा २ विकेट गुमाइसकेको थियो।

विराटनगरका कप्तान सन्दीप लामिछानेले पनि बलिङमा दबाब कायम राखेका थिए। चितवनको लगातार विकेट पतनले बोपाराको राम्रो स्कोर बनाउने योजनामाथि ठूलो धक्का लागेको छ।

एनपीएलको तेस्रो संस्करणमा दुवै टोलीले पहिलो खेल खेलिरहेका छन्। तर, चितवनका लागि यो सुरुवात निकै कठिन देखिएको छ। अब टोलीले बाँकी विकेट जोगाउँदै सम्मानजनक योगफल बनाउन सक्छ कि सक्दैन भन्ने चासो बढेको छ।