विराटनगर । इटहरी उपमहानगरपालिकाकी महिला इन्जिनियरलाई कार्यकक्षमै कुटपिट गरेको आरोपमा इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका छन् ।
उपमहानगरपालिकाको योजना शाखामा कार्यरत चौधरीले वडा नम्बर ९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीलाई गत भदौ २५ गते कार्यकक्षमै कुटपिट गरेको आरोप छ । घटनापछि अधिकारीले चौधरीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।
आर्थिक विषयमा चौधरीले आफ्नो नाम जोडेपछि अधिकारीले विरोध जनाएकी थिइन् । सोही विषयलाई लिएर विवाद हुँदा काम गरिरहेकी अधिकारीमाथि चौधरीले कुटपिट गरेको आरोप छ ।
घटनापछि अधिकारीले भदौ २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा प्रमाणसहित चौधरीविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा असोज ५ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका चौधरी आफन्तकोमा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ । उनलाई इटहरीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाउने जनाएको छ ।

















प्रतिक्रिया