चाडपर्वका बेला रगत अभाव, रक्तदान गर्न रेडक्रसको आह्वान


काठमाडौँ । चाडपर्वका कारण रक्तदान कार्यक्रम घटेसँगै ब्लड बैंकमा रगतको चरम अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय रक्तसञ्चार सेवामा रगतको मौज्दात सकिएको जनाउँदै रक्तदान गर्न स्वयंसेवी रक्तदाता तथा स्वस्थ युवायुवतीलाई विशेष आग्रह गरेको छ ।

दसैँको बिदासँगै रक्तदानका कार्यक्रम कम भएका छन् । अर्कोतर्फ, अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग निरन्तर बढिरहेको छ । मागअनुसार रगत उपलब्ध गराउन कठिनाइ भएपछि रेडक्रसले आम नागरिकलाई रक्तदानमा सहभागी हुन अपिल गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार केन्द्रमा सबै रक्तसमूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) र प्लेटलेट रिच प्लाज्मा (पीआरपी) को मौज्दात सकिएको छ ।

‘यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापनमा ठूलो कठिनाइ भएको छ,’ डा. यादवले भने । उनले पछिल्लो पटक रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा बिदा हुँदा रक्तदान कार्यक्रम प्रभावित भएको बताए । उनले स्वयंसेवी रक्तदाता र विभिन्न संघसंस्थालाई रक्तदान कार्यक्रम आयोजना गरी सहयोग गर्न आह्वान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानमा रहेका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा सञ्चालन गरिरहेको महामन्त्री ऋषि खनालले जानकारी दिए ।

रगत चाहिए वा रक्तदान गर्न कहाँ सम्पर्क गर्ने ?

रेडक्रसका अनुसार रगत आवश्यक परेमा वा रक्तदानसम्बन्धी जानकारी लिन केन्द्रीय रक्तसञ्चार सेवाका फोन नम्बर ०१५३८८४८५ र ०१५३८८४८६ मा सम्पर्क गर्न सकिन्छ । त्यस्तै, नेपाल रेडक्रसको निःशुल्क हटलाइन ११३० मा फोन गर्न पनि सकिनेछ ।

रक्तसञ्चारसम्बन्धी जानकारी प्राप्त गर्न मोबाइलको प्लेस्टोरबाट ‘एनआरसीएस बीटीएस’ एप डाउनलोड गर्नसमेत रेडक्रसले अनुरोध गरेको छ ।

रगतको अभावका कारण बिरामीको उपचार प्रभावित हुन नदिन नियमित रक्तदान आवश्यक रहेको भन्दै रेडक्रसले स्वस्थ र योग्य नागरिकलाई रक्तदानमा सहभागी हुन आग्रह गरेको छ ।