काठमाडौं । भारतको आन्ध्र प्रदेशमा ‘अर्नब’ नामक शक्तिशाली चक्रवातले ठूलो असर पारेको छ । चक्रवातका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ भने ३० वटा घरमा क्षति पुगेको छ । राज्यका ७१४ गाउँ प्रभावित भएका छन् भने १६७ गाउँमा बाढीको उच्च चेतावनी जारी गरिएको छ ।
भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात मंगलबार बिहान तटीय क्षेत्रमा प्रवेश गरेको थियो । यसको प्रभावले विभिन्न स्थानमा रुख तथा बिजुलीका खम्बा ढलेका छन् भने तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन् । किसानका पाक्न लागेका धानबालीमा समेत क्षति पुगेको छ ।
तटीय क्षेत्रमा प्रवेश गर्दा शक्तिशाली रहेको चक्रवात जमिनभित्र पस्दै गएपछि क्रमशः कमजोर हुँदै गएको बताइएको छ । मौसम प्रणाली कमजोर भएर गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान गरिएको छ ।
नेपालमा पनि वर्षा र हिमपातको सम्भावना
भारतमा चक्रवातको प्रभाव कमजोर हुँदै गए पनि यसको बाहिरी घेरामा रहेका बादल नेपालसम्म आइपुग्न सक्ने मौसमविद्हरूले बताएका छन् । यसका कारण बिहीबार रातिदेखि नेपालका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले जनजीवन, यातायात तथा पर्वतीय गतिविधिमा असर पर्न सक्ने जोखिम छ ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको जनाइएको छ ।
चक्रवातको प्रभाव नेपालमा कति र कुन क्षेत्रमा पर्ने भन्ने विषयमा पछिल्लो मौसम पूर्वानुमान तथा आधिकारिक सूचनालाई ध्यान दिन आवश्यक छ ।

















प्रतिक्रिया