काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले काठमाडौं जिल्ला अधिवेशन मंसिर २१ गते गर्ने भएको छ। पार्टीभित्र समानान्तर महाधिवेशनको तयारी गरिरहेको देउवा समूहले काठमाडौं जिल्ला अधिवेशनको मिति तय गरेको हो।
अधिवेशन मंसिर २१ गते शनिबार काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने तय भएको छ। अधिवेशनको उद्घाटन निवर्तमान सभापति शेरबहादुर देउवाले गर्ने नेता दिनेशविक्रम शाहले जानकारी दिएका छन्।
अधिवेशनलाई व्यवस्थित र सफल बनाउन समूहले तयारीसमेत अघि बढाएको छ। समूहका जिल्ला संयोजक जयकृष्ण महर्जनले अधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेका छन्।
महर्जनले प्रचार संयोजकमा शम्भुप्रसाद अधिकारी, मञ्च तथा अधिवेशन व्यवस्थापनको जिम्मेवारी टेवेन्द्ररत्न शाक्य र युवा परिचालनको जिम्मेवारी दिनेशविक्रम शाहलाई दिएका छन्।
देउवा समूहले काठमाडौं जिल्ला अधिवेशनको तयारी अघि बढाएसँगै कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि थप चर्चामा आएको छ। समानान्तर महाधिवेशनको तयारीमा रहेको समूहका लागि जिल्ला अधिवेशन संगठनात्मक गतिविधि अघि बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
अधिवेशनमा नेता तथा कार्यकर्ताको सहभागिता, संगठनात्मक तयारी र आगामी राजनीतिक रणनीतिबारे चासो बढेको छ।

















प्रतिक्रिया