पाल्पा । प्रेमको प्रतीकका रूपमा परिचित पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय पर्यटकको आकर्षणको प्रमुख केन्द्र थियो । उत्तरवाहिनी कालीगण्डकी नदीको किनारमा अवस्थित रानीमहलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदी किनारमा रमाउन पुग्ने पर्यटकको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो । तर, गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढीले यहाँको दृश्य बदलिदिएको छ । पर्यटकको चहलपहलले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ढुङ्गाले पुरिएर बगरमा परिणत भएको छ ।
बाढीले रानीमहल आसपासका सडक, पार्किङस्थल, व्यवसाय सञ्चालन गर्ने संरचना तथा आवागमनका पूर्वाधारमा क्षति पुर्याएको छ । यसबाट एक दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन् । वर्षौँको मेहनत र लगानीबाट व्यवसाय सञ्चालन गर्दै आएका स्थानीय व्यवसायी अहिले क्षतिग्रस्त संरचना पुनःनिर्माण र व्यवसायलाई पुरानै अवस्थामा फर्काउने चिन्तामा छन् ।
रानीमहलमा पर्यटकको आवागमन घट्दा स्थानीयको आम्दानीसमेत प्रभावित भएको छ । विशेषगरी दसैँका बेला रानीमहल घुम्न आउने पर्यटकको सङ्ख्या बढ्ने गरे पनि यस वर्ष बाढीले क्षेत्रको स्वरूप नै बदलिदिएपछि व्यवसायीले अपेक्षित कारोबार गर्न सकेका छैनन् ।
स्थानीय व्यवसायी शङ्कर बस्यालका अनुसार बाढीले व्यवसाय सञ्चालन गर्ने संरचनादेखि सडक र पार्किङस्थलसम्म पुरिएपछि पर्यटकको आवागमन प्रभावित भएको छ । ठूलो लगानी गरेर सञ्चालन गरेको व्यवसाय बाढीले तहसनहस बनाउँदा आफूहरू मर्कामा परेको उनले बताए ।
“ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरे पनि बाढीले तहसनहस बनाउँदा दुःख लागेको छ । हरेक वर्ष दसैँको बेला रानीमहल घुम्न आउने पर्यटकको सङ्ख्या बढ्ने गर्थ्यो । यस पटक भने रानीमहल क्षेत्र बगरमा परिणत हुँदा व्यवसाय सञ्चालन गर्नेहरू मर्कामा पर्नुपरेको छ,” बस्यालले भने ।
बाढीपछि तत्काल सरसफाइ, क्षतिग्रस्त संरचनाको व्यवस्थापन र प्रभावित क्षेत्रको पुनःस्थापनामा स्थानीय सरकारले पर्याप्त ध्यान नदिएको बस्यालको आरोप छ । बाढीले पुर्याएको भौतिक क्षतिसँगै आफ्नो समस्या बुझ्न र अवस्थाको अवलोकन गर्न जिम्मेवार निकायका प्रतिनिधि नआएको विषयले समेत व्यवसायीलाई निराश बनाएको उनले बताए । कर सङ्कलनमा सक्रिय हुने स्थानीय सरकारले पर्यटकीय सम्पदाको संरक्षण र विपत्तिपछिको पुनःस्थापनामा पनि उत्तिकै जिम्मेवारी देखाउनुपर्ने उनको भनाइ छ ।
रानीमहलको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी पाएको तानसेन नगरपालिकाले भने आफ्नो कार्यक्षेत्रभित्र क्षति भएका संरचना हटाउने र व्यवस्थापन गर्ने काम गरेको दाबी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले नगरपालिकाको क्षेत्राधिकारभित्र क्षति भएका संरचना तत्काल हटाइएको बताए । उनका अनुसार रानीमहल दरबार परिसरमा अहिले त्यस्तो अस्तव्यस्त अवस्था छैन । रानीमहल आसपास अस्तव्यस्त देखिएका केही संरचना बगनासकाली गाउँपालिकाको क्षेत्रभित्र पर्ने भएकाले तिनको व्यवस्थापन सम्बन्धित गाउँपालिकाले गर्नुपर्ने उनले बताए ।
बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले भने स्याङ्जाको कालीगण्डकी गाउँपालिकासँग समन्वय गरेर तत्काल बाटो खुलाउने काम गरिएको जानकारी दिइन् । बाढीपछि निरन्तर वर्षा भइरहनु र त्यसलगत्तै दसैँ बिदा परेकाले व्यवस्थापनको काम तत्काल अघि बढाउन नसकिएको उनको भनाइ छ । अबको एक–दुई दिनभित्रै डोजर पठाएर बाढीले पुरिएका सामग्री हटाउने र बगर सम्याउने काम गरिने उनले बताइन् ।
प्रेमको प्रतीक रानीमहलको ऐतिहासिक महत्त्व
रानीमहललाई नेपालको ‘ताजमहल’का रूपमा समेत चिनिन्छ । पाल्पाको तानसेन बजारदेखि करिब १३ किलोमिटर उत्तरमा कालीगण्डकी नदीको किनारमा अवस्थित यो ऐतिहासिक दरबार तत्कालीन राणा पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले विसं १९५४ मा निर्माण गराएका थिए ।
आफ्नी पत्नी तेजकुमारी देवीको मृत्युपछि उनको सम्झनामा खड्ग शमशेरले रानीमहल निर्माण गराएका हुन् । रानीलाई बगैँचासहितको महल बनाइदिने वचन पूरा गर्न उनले भारतबाट इन्जिनियर झिकाएर पाँच वर्ष लगाई दरबार निर्माण गराएको इतिहास छ ।
ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको रानीमहल क्षेत्र बाढीबाट प्रभावित भएपछि यहाँको प्राकृतिक सौन्दर्य, स्थानीय व्यवसाय र पर्यटन गतिविधि पुनःस्थापित गर्नु चुनौती बनेको छ । बाढीले पुरिएका संरचना हटाउने, सडक तथा पार्किङस्थल व्यवस्थित गर्ने र पर्यटकको आवागमन सहज बनाउने काम समयमै हुन सकेमा प्रभावित व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया