नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले शुल्क तिर्नुपर्ने


काठमाडौँ । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार शुल्क लागू गर्न लागिएको हो।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार काठमाडौं प्रवेश र प्रस्थान गर्दा तिर्नुपर्ने शुल्कको दर सार्वजनिक गरेको छ। आयोजनाले सवारीसाधनलाई चार वर्गमा विभाजन गरी फरक–फरक शुल्क निर्धारण गरेको जनाएको छ।

निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रो बसजस्ता हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, मिनी बस तथा मिनी टिपर–ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र प्रस्थान गर्दा ८० रुपैयाँ शुल्क तोकिएको छ। बस तथा सिंगल रियर एक्सल भएका ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र प्रस्थान गर्दा २०० रुपैयाँ तिर्नुपर्नेछ।

सबैभन्दा बढी शुल्क मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि निर्धारण गरिएको छ। यस्ता सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र प्रस्थान गर्दा २५० रुपैयाँ सडक उपभोग दस्तुर बुझाउनुपर्ने आयोजनाले जनाएको छ।

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क संकलन सुरु भएसँगै सुरुङमार्ग हुँदै यात्रा गर्ने चालक तथा यातायात व्यवसायीले तोकिएको दरअनुसार दस्तुर तिर्नुपर्नेछ। शुल्क संकलनसम्बन्धी विस्तृत जानकारीका लागि आयोजनाले सार्वजनिक गरेको सूचनालाई आधार मान्न सकिनेछ।