बैंकमा थुप्रियो पैसा, राष्ट्र बैंकले एकैपटक तान्दै १५० अर्ब


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बिहीबार १५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले आठ दिनका लागि उक्त रकम निक्षेप संकलन उपकरणमार्फत खिच्न लागेको हो।

राष्ट्र बैंकले निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय निर्धारण गरेको छ। यस प्रक्रियामार्फत बैंकिङ प्रणालीमा रहेको अतिरिक्त रकम राष्ट्र बैंकमा राख्ने व्यवस्था गरिनेछ।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा सहभागी हुने संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म प्रस्ताव पेस गर्न सक्नेछन्। प्रस्तावित रकम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।

निक्षेप संकलनको बोलकबोलमा सहभागी संस्थाले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। ब्याजदर दशमलवपछि चार अंकसम्म उल्लेख गर्न सकिने व्यवस्था छ। बोलकबोल ब्याजदरका आधारमा हुने र सहभागी संस्थाले फरक–फरक ब्याजदरमा समेत बहुबोलकबोल गर्न सक्नेछन्।

राष्ट्र बैंकले साँवा तथा ब्याज भुक्तानीको मिति कात्तिक २० गते तोकेको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन्।

बैंकिङ प्रणालीमा उपलब्ध अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले समय–समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यस प्रक्रियाबाट बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त रकम केन्द्रीय बैंकमा तानिन्छ, जसले प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्न सहयोग गर्छ।