तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का सम्झौता तोडियो


इलाम । मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्धारित समयभित्र निर्माण सम्पन्न नभएपछि इलाम सडक डिभिजनले ९.५ किलोमिटर सडक खण्डको ठेक्का तोडेको हो।

२७ करोड २२ लाख रुपैयाँ लागतमा स्तरोन्नति गर्न लागिएको उक्त सडक आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा मात्रै सीमित भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो।

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम मात्रै निर्माण प्रगति भएको पाइएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको इलाम सडक डिभिजनले ठेक्का तोड्ने निर्णय गरेको जनाएको छ।

इलाम सडक डिभिजनले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। निर्माण कार्यमा ढिलाइ तथा सम्झौताअनुसार काम नभएका आयोजनामाथि कारबाही अघि बढाइएको डिभिजनले जनाएको छ।

यस अवधिमा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ। त्यस्तै, छ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको डिभिजनले जनाएको छ।

ठेक्का सम्झौता अन्त्य गरिएको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको निर्माणलाई निरन्तरता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाइने भएको छ। त्यसका लागि आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।

निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा नाघिसक्दा पनि सडक अधुरै रहेपछि स्थानीयले थप प्रतीक्षा गर्नुपर्ने अवस्था बनेको छ। नयाँ ठेक्का प्रक्रिया पूरा गरी निर्माण अघि बढेपछि मात्रै सडक स्तरोन्नतिको कामले गति लिने अपेक्षा गरिएको छ।