कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि सम्हाल्दै छ जिम्मेवारी, शपथ ग्रहणमा नयाँ शैली


ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिबाहेक अन्य सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिनेछन्। सभापति गगनकुमार थापाले यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।

निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतको भन्दा फरक ढाँचामा आयोजना गरिनेछ। समारोहमा नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै पदबहालीसमेत गराइने उनले जानकारी दिए।

आजै नयाँ कार्यसमितिको पहिलो बैठक

शपथ ग्रहण र पदबहालीपछि आजै सानेपामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी छ। बैठकमा महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्ने विषयमा छलफल हुने जनाइएको छ।

त्यसैगरी, आगामी जिल्ला तथा प्रदेश अधिवेशनका विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले बताएका छन्। नयाँ कार्यसमितिले जिम्मेवारी सम्हालेसँगै पार्टीका संगठनात्मक गतिविधि र आगामी अधिवेशनको तयारीलाई अघि बढाउने अपेक्षा गरिएको छ।

एक सातामै सकियो मतगणना

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा निर्वाचन प्रक्रिया सञ्चालन भएको थियो। निर्वाचनको अन्तिम परिणाम असोज ३० गते सार्वजनिक गरिएको थियो। महाधिवेशनको उद्घाटन तथा बन्दसत्र खुलामञ्चमा आयोजना गरिएको थियो भने मतदान खुलामञ्च र राष्ट्रिय सभागृहमा भएको थियो।

असोज २३ गते मतदान सम्पन्न भएपछि सोही राति राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरु गरिएको थियो। सभापतिको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिएको थियो।

निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा चार हजार सात सय मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक सात हजार तीन सय ९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको उनले बताए। उनका अनुसार यस निर्वाचनमा करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो।

कुल दुई सय २९ पदका लागि भएको निर्वाचनमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।

गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति

महाधिवेशनबाट गगनकुमार थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। त्यस्तै, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।

महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्। महाधिवेशनबाट समावेशी तथा प्राज्ञिक प्रतिनिधित्वलाई समेट्ने नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ।

नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेसँगै कांग्रेसको संगठन सञ्चालन, जिल्ला तथा प्रदेश अधिवेशनको तयारी र आगामी राजनीतिक गतिविधिले गति लिने अपेक्षा गरिएको छ।