स्पेनमा रेल दुर्घटनाको कहालीलाग्दो दृश्य, ६८ जनाको मृत्यु भएपछि राष्ट्रिय शोक


मड्रिड । स्पेनमा भएको भीषण रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएपछि सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् भने मृतकहरूमध्ये धेरैको पहिचान हुन बाँकी छ।

दुर्घटनापछि उद्धारकर्मीहरूले रातभर शक्तिशाली फ्लडलाइटको सहायताले क्षतिग्रस्त रेलका डब्बाहरू काटेर यात्रुहरूको खोजी गरेका थिए। भग्नावशेषभित्र फसेका यात्रुको उद्धार तथा मृतकको पहिचान गर्ने काम जारी रहेको जनाइएको छ।

प्राप्त विवरणअनुसार, मड्रिडबाट सेभिलतर्फ गइरहेको रेल लिकमा रोकिएर बसेको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो। ठक्कर यति शक्तिशाली थियो कि रेलका कैयौँ डब्बा लिकबाट खसेर भीरतिर पुगेका थिए।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसले देशलाई शोकमा डुबाएको बताएका छन्। दुर्घटनाका कारण धेरै परिवारले आफ्ना प्रियजन गुमाएको र पीडित परिवारको दुःख अत्यन्तै गहिरो रहेको उनको भनाइ छ।

स्पेनको गृह मन्त्रालयका अनुसार उद्धार तथा राहत कार्यमा सयौँ सुरक्षाकर्मी र प्राविधिक परिचालन गरिएको छ। ड्रोन र हेलिकप्टरको समेत प्रयोग गरी दुर्घटनास्थलमा खोजी तथा भग्नावशेष हटाउने काम भइरहेको छ।

स्पेनका यातायातमन्त्री ओस्कर पुएन्तेका अनुसार निजी रेल सञ्चालक कम्पनी इरियोको रेलमा कम्प्युटर प्रणालीसम्बन्धी समस्या आएपछि रेल लिकमै रोकिएको थियो। उक्त रेलमा १४७ जना यात्रु सवार रहेको बताइएको छ।

मन्त्रीका अनुसार रेल नियन्त्रण प्रणालीले रेलहरूलाई अघि बढ्न निर्देशन दिएको विषयमा पनि प्रश्न उठेको छ। मड्रिडस्थित रेल नियन्त्रण कक्ष र चालकबीच भएको अडियो रेकर्डिङमा अगाडिको रेल रोकिएको अवस्थामा पछाडिबाट आएको रेललाई अघि बढ्न अनुमति दिइएको देखिएको बताइएको छ। यद्यपि, दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ।

रेल सञ्चालक कम्पनी इरियोले भने सरकारी रेल कम्पनी रेन्फेको रेलले आफ्नो रेललाई पछाडिबाट ठक्कर दिएको जनाएको छ। ठक्करको तीव्रताका कारण कैयौँ डब्बा लिकबाट खसेका थिए।

दुर्घटनाका प्रत्यक्षदर्शीहरूले यात्रुहरू चिच्याइरहेको, केही मानिस रगताम्मे अवस्थामा रहेको तथा यात्रुहरू डब्बाभित्रै च्यापिएको बताएका छन्। केही डब्बामा धुवाँ फैलिएको र एउटामा आगलागीसमेत भएको विवरण सार्वजनिक भएको छ।

यस दुर्घटनाले स्पेनको रेल सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। दुर्घटनाको कारण, रेल नियन्त्रण प्रणालीको भूमिका र सम्भावित लापरबाहीबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।