काठमाडौं – मलयालम फिल्म उद्योगमा नयाँ इतिहास रचेको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ अब नेपालमा डिगोमार्फत हेर्न सकिने भएको छ । करिब २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको यस फिल्मले विश्वभरबाट करिब ३३० करोड भारतीय रुपैयाँ कमाइ गरेको दाबी गरिएको छ ।
४१ वर्षीय निविन पोली र २५ वर्षीया ममिथा बैजु मुख्य भूमिकामा रहेको फिल्मले आफ्नो आकर्षक कथावस्तु, प्रेम, हास्य र पारिवारिक सम्बन्धको प्रस्तुतिका कारण दर्शकको मन जितेको छ । यसलाई अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने मलयालम फिल्मका रूपमा समेत चर्चा गरिएको छ ।
गिरिश एडीको निर्देशनमा बनेको फिल्मका सहनिर्मातामा फहद फासिल, दिलिश पोथन र श्याम पुष्करन छन् । फिल्मको कथा एस्ली र उनीभन्दा उमेरले जेठा छिमेकी जस्टिनबीच विकसित हुने सम्बन्धमा केन्द्रित छ ।
एस्ली आफ्नो परिवारसँगै मुन्डक्कायमबाट करुकुट्टीमा बसाइँ सर्छिन् र जस्टिनको छिमेकी बन्छिन् । ४० वर्ष नाघिसकेका जस्टिन अविवाहित भए पनि छरछिमेकमा प्रिय छन् । विस्तारै एस्ली उनीप्रति आकर्षित हुन्छिन् । फरक उमेरका दुई पात्रबीचको सम्बन्धले कस्तो मोड लिन्छ र उनीहरूको प्रेमले पूर्णता पाउँछ कि पाउँदैन भन्ने जिज्ञासाले फिल्मलाई रोचक बनाएको छ ।
प्रेम, हास्य र पारिवारिक सम्बन्धलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरिएकाले फिल्मले दर्शकको राम्रो साथ पाएको हो । तुलनात्मक रूपमा कम बजेटमा बलियो कथावस्तु र उत्कृष्ट प्रस्तुति दिन सक्ने मलयालम फिल्म उद्योगको विशेषतालाई यस फिल्मले पुनः उजागर गरेको छ ।
नेपालमा यो फिल्म डिगोमार्फत हेर्न सकिनेछ । जिओहटस्टारलाई नेपालमा उपलब्ध गराएको डिगोले दर्शकका लागि भारतीय मनोरञ्जन सामग्रीको पहुँच विस्तार गरेको छ ।
डिगोमा ‘बिग बोस’, ‘इन्डिया का टप १ पर्सेन्ट’ र पछिल्लो समय चर्चामा रहेको ‘कफी विथ करण’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रम पनि उपलब्ध छन् । जिओहटस्टारमा रहेका यस्ता सामग्री नेपाली दर्शकले डिगोमार्फत सहज रूपमा हेर्न सक्नेछन् ।

















प्रतिक्रिया