कोषाध्यक्ष बरालसहितका पत्रकार पक्राउप्रति अनलाइन टिभी पत्रकार सङ्घको कडा आपत्ति


काठमाडौँ । अनलाइन टिभी पत्रकार सङ्घले आफ्ना कोषाध्यक्ष तथा मोटिभेट न्युज का प्रधान सम्पादक शोभराज बराललाई समाचार कक्षबाटै पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। सङ्घका महासचिव पवन फुयालद्वारा जारी विज्ञप्तिमा बरालसहित पक्राउ परेका अन्य पत्रकारहरूलाई तत्काल निःशर्त रिहा गर्न र पत्रकारविरुद्ध भइरहेको धरपकड बन्द गर्न जोडदार माग गरिएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, दिउँसो पौने ३ बजेतिर प्रहरीले आफ्नो परिचयसमेत नदिई ‘तपाईंलाई भेट्न छ’ भन्दै फोन गरेको थियो भने लगत्तै दिउँसो ३ बजे साधा पोशाकमा कार्यालय प्रवेश गरेका प्रहरीहरूले पाँच मिनेटको कुराकानीपछि ‘हामीसँग हिँड्नुस्’ भन्दै समाचार कक्षबाटै बराललाई नियन्त्रणमा लिएका थिए। हाल उनलाई अपराध अनुसन्धान महाशाखा, टेकुमा राखिएको छ। यसैगरी, नेपाल प्रेस का विश्वमणि सुवेदी र डीएनए खबर का धिरज बस्नेतलाई समेत प्रहरीले पक्राउ गरेको तथा अन्य पत्रकारहरूलाई पनि पक्राउ गर्ने प्रयास भइरहेको जानकारी सार्वजनिक भएको छ। यसरी एकपछि अर्को गर्दै पत्रकारहरूलाई पक्राउ गरिने घटनाले समग्र पत्रकारिता क्षेत्रलाई त्रसित बनाएको सङ्घको ठहर छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित विषयमा समाचार लेखेकै आधारमा प्रधान सम्पादक बराललाई पक्राउ गरिएको दाबीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गरेको विज्ञप्तिमा औंल्याइएको छ। समाचारप्रति असहमति वा गुनासो भए कानुनी र संवैधानिक प्रक्रियाबाट समाधान खोज्न सकिने भए पनि, समाचार लेखेकै भरमा कार्यकक्षमै प्रहरी प्रवेश गराएर पक्राउ गर्नु लोकतान्त्रिक मूल्य, नागरिकको सूचनाको हक र स्वतन्त्र पत्रकारितामाथिको गम्भीर चुनौती भएको सङ्घले जनाएको छ। सङ्घले पत्रकारहरूको गिरफ्तारी र धरपकड तत्काल बन्द गर्न, पक्राउ परेका सबै पत्रकारलाई बिनासर्त रिहा गर्न, पक्राउको आधार र कारण सार्वजनिक गर्न तथा पत्रकारहरूलाई निर्भयपूर्वक काम गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।