पत्रकार नवराज मैनालीलाई लिन पुगेको प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयबाट फर्कियो


काठमाडौं । पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै पुगेको नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयबाट बाहिरिएको छ । शुक्रबार साँझ सवा ५ बजे नयाँ पत्रिकाको कार्यालय पुगेको प्रहरी टोली राति करिब ८ बजे त्यहाँबाट फर्किएको हो ।

नयाँ पत्रिकामा रहेका पत्रकारका अनुसार प्रहरीले सम्पादक खगेन्द्र पन्त र वरिष्ठ संवाददाता नवराज मैनालीलाई शनिबार बिहान १० बजे नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिएको छ ।

पत्रिकाका सम्पादक पन्तले के कारणले उपस्थित हुनुपर्ने हो भन्नेबारे लिखित जानकारी गराउन प्रहरीसँग आग्रह गरेका थिए । तर प्रहरीले लिखित पत्र नदिई भोलि बिहान साइबर ब्युरोमा उपस्थित हुन मौखिक निर्देशन दिएर कार्यालय छाडेको जनाइएको छ ।

यसअघि विभिन्न सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाबारे बहस भइरहेका बेला नयाँ पत्रिकाको कार्यालयमा प्रहरी पुगेको घटनाले थप चासो बढाएको छ ।