पत्रकार पक्राउप्रति रिपोर्टर्स क्लबको आपत्ति, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर


काठमाडौं – रिपोर्टर्स क्लब नेपालले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

शुक्रबार कार्यालय समय समाप्त भएपछि सादा पोशाकमा प्रहरी सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष ऋषि धमलाले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रहरी प्रवेश गराउनु र पत्रकारलाई नियन्त्रणमा लिनु अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको बताएका छन्।

विज्ञप्तिमा लोकतन्त्र, विधिको शासन र कानुनी राज्यमा समाचारप्रति असहमति वा आपत्ति भए कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्ने उल्लेख गरिएको छ। पत्रकारलाई नै निशाना बनाउनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको क्लबको ठहर छ।

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, नयाँ पत्रिकाका पत्रकार नवराज मैनाली, दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मा तथा डीएनए खबरका सम्पादक धिरज बस्नेतलगायत सञ्चारकर्मीलाई नियन्त्रणमा लिइएको घटनाप्रति क्लबले चासो व्यक्त गरेको छ।

‘प्रश्न गर्ने पत्रकारलाई पक्राउ गरेर, सञ्चारगृहमा प्रहरी पठाएर वा नागरिक संस्थाहरूलाई निलम्बन गरेर आवाज दबाउने प्रयासले लोकतान्त्रिक व्यवस्था बलियो हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

क्लबले पत्रकार तथा सञ्चारकर्मीलाई धरपकड गर्ने, त्रसित बनाउने र दुःख दिने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ। प्रेस स्वतन्त्रता पत्रकार र सञ्चारमाध्यमको मात्र नभई आम नागरिकको सूचना पाउने अधिकारसँग समेत जोडिएको भन्दै यसको संरक्षणका लागि सञ्चार जगत् एकजुट हुनुपर्ने अध्यक्ष धमलाले बताएका छन्।

यसैबीच, प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि नियन्त्रणमा लिइएका सबै पत्रकार रिहा भइसकेका छन्।