पत्रकार पक्राउ र सञ्चारमाध्यममाथिको हस्तक्षेपप्रति भीष्मराज आङदेम्बेको आपत्ति, भने– राज्यशक्तिको दुरुपयोग


काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममाथि प्रहरी हस्तक्षेप गर्ने कार्यप्रति कडा आपत्ति जनाएका छन्।

शनिबार प्रेस वक्तव्य जारी गर्दै उनले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको कार्यालयअगाडि प्रहरी परिचालन गर्ने तथा समाचार कक्षमै प्रहरी प्रवेश गरेर त्रास सिर्जना गर्ने कार्यको भर्त्सना गरेका हुन्।

उनले यस्ता गतिविधि लोकतान्त्रिक सरकारको चरित्रविपरीत रहेको उल्लेख गर्दै यसलाई राज्यशक्तिको नग्न दुरुपयोग र प्रेस स्वतन्त्रतामाथिको ठाडो हमला भएको बताएका छन्।

आङदेम्बेले पछिल्लो समय अदालतमा बिचौलियामार्फत सेटिङ भएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश तथा सत्तापक्षीय सांसदहरूको नाम जोडिएर समाचार सार्वजनिक भइरहेको विषयसमेत उठाएका छन्।

त्यस्तै, उच्च सरकारी अधिकारीलाई सेवाबाट हटाउन लागिएको, कार्यस्थलमा रहेका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा राखेर उनीहरूको काममा हस्तक्षेप गरिएको जस्ता विषय सार्वजनिक गर्ने पत्रकारमाथि पक्राउ पुर्जीबिनै धरपकड गरिएको उनको दाबी छ।

पत्रकारलाई साइबर ब्युरोमा बोलाउने तथा समाचार लेखेकै आधारमा पक्राउ गर्ने घटनाले नेपालमा स्वतन्त्र रूपमा समाचार लेख्ने वातावरण साँघुरिँदै गएको उनले बताएका छन्।

उनले प्रधानमन्त्रीदेखि सरकारका सबै निकायले कानुनको पालना गर्नुपर्नेमा जोड दिँदै अनियमितताका विषयमा छानबिन गर्दा स्थापित निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताएका छन्।

संविधानले प्रत्याभूत गरेको वाक् तथा प्रकाशन स्वतन्त्रतामाथि कुनै पनि बहानामा प्रहार गर्न नहुने उनको भनाइ छ।

पत्रकारलाई पक्राउ गर्दैमा समाचारको सत्य दबाउन नसकिने उल्लेख गर्दै आङदेम्बेले सरकार र राज्यका निकायहरूलाई कानुनसम्मत रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।