कुलेखानी जलाशयको सतह बढेपछि भीमफेदी–कुलेखानी सडक १२ घण्टाका लागि बन्द


हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह तीव्र रूपमा बढेपछि हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा १२ घण्टाका लागि सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

लगातारको वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै तोकिएको अवधिमा उक्त सडकमार्ग प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण कात्तिक १२ गतेदेखि मकवानपुरसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण जलाशयको सतह शनिबार साँझसम्म १ हजार ५२९ मिटर पुग्ने अनुमान गरिएको छ। जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेको छ।

प्रशासनका अनुसार जलाधार क्षेत्रमा भारी वर्षा जारी रहेमा जलाशयको सुरक्षाका लागि बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्छ। त्यसो भएमा सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम रहेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान तथा सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।

प्रशासनले मौसमको अवस्था र जलाशयको सतहलाई मध्यनजर गर्दै सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न तथा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।