इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको ट्रम्पको दाबी


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता र आणविक कार्यक्रम ध्वस्त पारिसकेको दाबी गरेका छन्। उनले अब इरानमा एक–दुई वटा लक्ष्यमा मात्रै आक्रमण गर्न बाँकी रहेको बताएका छन्।

शनिबार फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले बाँकी रहेका लक्ष्यमा ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थलसमेत रहेको उल्लेख गरेका छन्।

ट्रम्पका अनुसार अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यदेखि सुरु गरेको सैन्य कारबाहीपछि इरानको सैन्य क्षमता निकै कमजोर बनेको छ। उनले युद्ध अन्त्य गर्ने विषयमा इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको पनि बताएका छन्।

यद्यपि, वार्ता सकारात्मक भए पनि इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने ट्रम्पको भनाइ छ। उनले बाँकी लक्ष्यबारे उल्लेख गर्दै इरानमाथिको सैन्य कारबाही अझै पूर्ण रूपमा समाप्त नभएको संकेत गरेका छन्।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले एकातिर युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहेको र अर्कोतर्फ सैन्य दबाब कायम रहेको देखाएको छ।