काठमाडौं । अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको प्रतीक्षित नेपाली चलचित्र ‘चिरञ्जीवी भवः’ को पहिलो झलक सार्वजनिक भएको छ। निर्माण टिमले शनिबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै दर्शकमाझ फिल्मको पात्र र कथावस्तुबारे कौतुहलता बढाएको छ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई देख्न सकिन्छ। एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा देखिएका छन् भने आशीर्वाद र प्रशंसा खुसी मुद्रामा प्रस्तुत छन्।
क्याजुअल पहिरनमा देखिएका आशीर्वाद र बुट्टे चोली तथा सारीमा सजिएकी प्रशंसाको हँसिलो प्रस्तुतिले पोस्टरलाई आकर्षक बनाएको छ। सेतो फुलेको कपाल र जुँगा, ढाका टोपी तथा परम्परागत पहिरनमा देखिएका हरिवंशले भने परिपक्व र प्रतिष्ठित घरमुलीको झल्को दिएका छन्। पोस्टरको पृष्ठभूमिमा देखिएको मन्दिर र शीर्षकसँग जोडिएको खामले धार्मिक आस्था तथा पारिवारिक सम्बन्धको संकेत गरेको देखिन्छ।
अर्को पोस्टरमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ। परम्परागत दौरा–सुरुवाल र ज्वारीकोटमा देखिएका हरिवंश तथा आधुनिक पहिरनमा रहेका आशीर्वादको प्रस्तुतिले दुई पुस्ताबीचको सम्बन्धलाई संकेत गरेको छ। पोस्टर हेर्दा उनीहरू बुवा र छोराको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ।
चलचित्रमा हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदैछन्। सोसल ड्रामा जनरामा निर्माण भएको चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता, पारिवारिक सम्बन्ध र भावनात्मक उतारचढावको कथा प्रस्तुत गर्ने बताइएको छ।
ब्लकबस्टर चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको चलचित्र माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्र अहिले पोस्ट प्रोडक्सनको चरणमा छ।
चलचित्रमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीसँगै करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय रहेको छ।
कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा दीपकप्रसाद आचार्यले चलचित्र निर्माण गरेका हुन्। कथाको लेखनमा सविन अधिकारी र वसन्त न्यौपानेले सहकार्य गरेका छन्। उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन्।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ। बाबु गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलले संगीत दिएका छन्। गम्भीर विष्ट र किरण थापा नृत्य निर्देशकका रूपमा रहेका छन्।
निर्देशक आचार्यको अघिल्लो चलचित्र ‘परान’ले व्यावसायिक सफलता हासिल गरेपछि उनको दोस्रो चलचित्र ‘चिरञ्जीवी भवः’प्रति दर्शकको चासो बढेको छ। पारिवारिक सम्बन्ध र दुई पुस्ताको कथालाई केन्द्रमा राखेको यस चलचित्रले दर्शकको मन जित्न सक्छ वा सक्दैन भन्ने प्रतीक्षा अब माघ १ गतेसम्म रहनेछ।
चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।

















प्रतिक्रिया