सरकारका कारण कर्मचारी, व्यवसायी सब थुरथुर भए : सभापति थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले मुलुकको अर्थतन्त्र सुधारमा पर्याप्त ध्यान दिन नसकेको टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारप्रति धारणा सार्वजनिक गर्दै थापाले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार हुनुपर्ने भए पनि अन्य विषयमा बढी केन्द्रित भएको बताएका हुन्।

उनले प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटीमा दबाब परेको र मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे। यस्तो अवस्थामा सरकारको मुख्य ध्यान अर्थतन्त्रलाई चलायमान बनाउने र नागरिक तथा निजी क्षेत्रको विश्वास बढाउनेतर्फ हुनुपर्ने उनको भनाइ छ।

‘अहिले हाम्रो अर्थतन्त्र ठीक छैन। फागुन अगाडि ठीक थियो म भन्दिनँ, ठीक थिएन। प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटी दबाबमा छ। यस्तो बेलामा फोकस अर्थतन्त्रमा हुनुपर्ने होइन ?’ थापाले प्रश्न गरे।

उनले सरकारको नीतिका कारण कर्मचारी, व्यवसायी तथा विभिन्न निकायमा विश्वासको संकट देखिएको दाबी गरे। प्रहरी र संवैधानिक निकायको अवस्थाबारे समेत प्रश्न उठाउँदै उनले सरकारप्रति भरोसा कमजोर हुँदै गएको टिप्पणी गरे।

थापाले शिथिल अर्थतन्त्रलाई त्रास देखाएर नभई विश्वास र भरोसा दिएर सुधार गर्नुपर्ने बताए। अर्थतन्त्र सुधारका लागि सरकारले प्रतिपक्षसँग सहकार्य गर्न चाहे कांग्रेस सहयोग गर्न तयार रहेको पनि उनले स्पष्ट पारे।

‘शिथिल भएको इकोनोमीलाई तर्साएर होइन, भरोसा र विश्वास दिनुपर्ने हो। यस्तो अपोजिसन पाउनुभएको छ—बिल पास गर्न चाहनुभएको छ भने अध्यादेश ल्याउनै पर्दैन। राष्ट्रिय सभामा हामी ठूलो दल हौँ। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी हौँ। अर्थतन्त्र सुधारको काम गरौँ भन्नुहोस्, हामी सहयोग गर्न तयार छौँ,’ उनले भने।

थापाले अर्थतन्त्र सुधारका लागि सरकार र प्रतिपक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।