एनपीएलमा आज कसले मार्ला बाजी? काठमाडौँ–कर्णाली र सुदूरपश्चिम–चितवन भिड्दै


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

दिनको पहिलो खेलमा दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन्। प्रतियोगितामा काठमाडौँ पहिलो जितको खोजीमा छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौँ आज कर्णालीलाई हराउँदै जितको खाता खोल्ने लक्ष्यसहित मैदान उत्रनेछ।

यता कर्णाली याक्स भने लगातार तेस्रो जितको खोजीमा हुनेछ। प्रतियोगितामा अहिलेसम्म खेलेका दुवै खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सलाई पराजित गरेको कर्णालीले चार अंक जोडिसकेको छ। आजको खेल जितेमा टोलीले अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाउनेछ।

त्यस्तै, आजको दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीका लागि यो खेल अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसरका रूपमा रहनेछ।

सुदूरपश्चिमले प्रतियोगितामा खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ। त्यसैले टोली आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। लगातारको हारले अंक तालिकामा पछि परेको सुदूरपश्चिमका लागि चितवनविरुद्धको खेल महत्त्वपूर्ण हुनेछ।

अर्कोतर्फ, चितवन राइनोजले प्रतियोगितामा अहिलेसम्म हार बेहोरेको छैन। टोलीले खेलेको पहिलो खेलमा जित निकालेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नुपरेको थियो। तीन अंक जोडेको चितवन आज सुदूरपश्चिमलाई पराजित गर्दै अपराजित यात्रा कायम राख्ने प्रयासमा हुनेछ।

आजका दुवै खेलले अंक तालिकाको समीकरणमा प्रभाव पार्ने भएकाले चारै टोलीका लागि प्रतिस्पर्धा महत्त्वपूर्ण हुनेछ।