पुष्प बाहिरिएपछि ‘एक्का तीन’मा सुशील श्रेष्ठको प्रवेश, पूजा र कवितामध्ये को बन्लिन् उनको जोडी ?


काठमाडौं – रुपेश तामाङको निर्देशनमा निर्माण हुन लागेको एक्सन फिल्म ‘एक्का तीन’मा मुख्य अभिनेता परिवर्तन भएका छन्। गत चैतमा फिल्मको मुख्य भूमिकाका लागि अनुबन्धित भएका अभिनेता पुष्प खड्का निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि आपसी सहमतिमै फिल्मबाट अलग भएका हुन्। उनको ठाउँमा अब अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन्।

आइतबार सुशील र निर्देशक तामाङबीच फिल्मका लागि लिखित सम्झौता भएको हो। हाल नयाँ फिल्म ‘साम्राज्य’को छायांकनमा व्यस्त रहेका सुशीलले उक्त फिल्मको काम सकेपछि ‘एक्का तीन’लाई समय दिने जनाइएको छ।

फिल्ममा सुशीलसँगै पूजा शर्मा र कविता नेपालीको पनि अभिनय रहनेछ। तर, सुशीलको जोडी पूजासँग बन्ने हो वा कवितासँग भन्नेबारे निर्माण पक्षले खुलाएको छैन।

दुई श्रृंखलामा निर्माण हुने ‘एक्का तीन’को पटकथा तथा संवाद सुमन गजमेरले लेखेका छन्। उनले यसअघि फिल्म ‘रंगी’को पटकथा लेखेका थिए। फिल्मका निर्माता रामकृष्ण खरेल र अनुप गदाल हुन् भने जुना फिल्म्सको ब्यानरमा निर्माण हुनेछ।

फिल्मको छायांकन आगामी मंसिरको पहिलो साताबाट सुरु गर्ने तयारी छ। निर्माण पक्षले फिल्मलाई सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।