रसुवागढी र तातोपानी बन्द हुँदा कोरला नाकाबाट भित्रियो ३ हजार ७२५ मेट्रिक टन फलफूल


काठमाडौँ । चीनसँगका प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी बन्द भएपछि मुस्ताङको कोरला नाका हुँदै फलफूल आयात बढेको छ। आइतबारसम्म यस नाकाबाट चीनबाट ३ हजार ७२५ मेट्रिक टन फलफूल नेपाल भित्रिएको छ।

रसुवागढी र तातोपानी नाका बन्द भएपछि व्यवसायीले भदौ २० गतेदेखि कोरला नाकालाई फलफूल आयातको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका हुन्।

लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार करिब दुई महिनाको अवधिमा कोरला नाकाबाट ११ प्रकारका फलफूल आयात भएका छन्। रसुवाको भोटेकोशीमा आएको बाढीपछि भदौ १० गतेदेखि रसुवा–केरुङ नाका पूर्ण रूपमा बन्द छ। त्यस्तै, सिन्धुपाल्चोकको तातोपानी नाका पनि लामो समयदेखि बन्द रहेकाले चीनबाट हुने फलफूल आयात कोरला नाकातर्फ केन्द्रित भएको हो।

क्वारेन्टाइन कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी आयात गरिएका फलफूलमध्ये बोक्रासहितको ओखर र स्याउको परिमाण सबैभन्दा बढी छ। यसबाहेक ड्रागन फ्रुट, नासपाती, आँप, अङ्गुर र किसमिस पनि कोरला नाका हुँदै भित्रिएका छन्।

फलफूलबाहेक फर्सीको बीउ, लसुन र फापरसमेत चीनबाट आयात भएको घर्तीमगरले बताइन्।

सडक अवरोधले आयातित फलफूल ढुवानीमा समस्या

कोरला नाकाबाट आयात बढे पनि नेपालभित्रको सडक अवरोधले ढुवानीमा समस्या सिर्जना गरेको थियो। असोज ११ गतेको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक दुई साताभन्दा बढी समय अवरुद्ध हुँदा क्वारेन्टाइन परीक्षण र भन्सार जाँचपास भइसकेका फलफूलसमेत गन्तव्यसम्म पुर्‍याउन सकिएको थिएन।

सडक अवरुद्ध हुँदा एक कन्टेनरमा ल्याइएको ड्रागन फ्रुट बिग्रन थालेपछि व्यवसायीले मुस्ताङका स्थानीयलाई निःशुल्क वितरण गरेका थिए।

रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला नाकाले चीनबाट फलफूल आयातका लागि वैकल्पिक मार्गको भूमिका निर्वाह गरेको छ। तर, आन्तरिक सडक पूर्वाधारमा हुने अवरोधले आयातित कृषि उपज समयमै बजारसम्म पुर्‍याउन चुनौती थपिएको छ।