काठमाडौँ । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।
स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।
थापाले अभिभावकलाई आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्र वा तोकिएको स्थानमा लगेर औषधि खुवाउन आग्रह गरेका छन्।
कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिँदैछन्। सरकारले हरेक वर्ष कात्तिक र वैशाखमा गरी दुई पटक बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले वि.सं. २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र वि.सं. २०५६ देखि जुकाको औषधि नियमित रूपमा खुवाउन थालेको हो।
यस कार्यक्रमले बालबालिकाको पोषण अवस्था सुधार तथा स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया