रास्वपा नेताको घरमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीको छापा, ९ जना पक्राउ


बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति अमर खड्काको घरमा सञ्चालित जुवाखालमा छापा मारेर नौ जनालाई नियन्त्रणमा लिएको छ।

बागलुङ नगरपालिका–२ निवासी खड्काको घरमा जुवा खेल भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। प्रहरीले खड्कासहित नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट एक लाख ६४ हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ। पक्राउ परेकाहरूको मेडिकल परीक्षणपछि जुवा ऐनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

खड्का रास्वपाका क्षेत्रीय सभापति हुन्। उनको घरमा जुवाखाल सञ्चालन भइरहेको अवस्थामा प्रहरीको छापा परेको घटनाबारे थप अनुसन्धान भइरहेको छ।