एनपीएल खेल्न दक्षिण अफ्रिकी स्टार डेभिड मिलर नेपाल आइपुगे


काठमाडौँ । कर्णाली याक्समा अनुबन्ध भएका दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। बुधबार बिहान उनी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए।

३७ वर्षीय बायाँहाते मध्यक्रमका ब्याटर मिलरले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलेका छन्। उनले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग र पाकिस्तान प्रिमियर लिगलगायत प्रतियोगितामा सहभागिता जनाएका छन्।

आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएल उपाधि जित्दा मिलर टोलीका प्रमुख खेलाडीमध्ये एक थिए।

कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

टी–२० मा मिलरको प्रभावशाली प्रदर्शन

मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई हजार ८०४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। भारत र बंगलादेशविरुद्ध उनले टी–२० अन्तर्राष्ट्रिय करियरका शतक बनाएका थिए।

उनले समग्र टी–२० करियरमा ५८४ खेल खेल्दै १२ हजार ४३५ रन बनाएका छन्। यस क्रममा चार शतक र ५३ अर्धशतक प्रहार गरेका छन्। सन् २०१७ मा बंगलादेशविरुद्ध उनले ३५ बलमै शतक बनाएका थिए। त्यस्तै, आईपीएलमा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमै शतक प्रहार गरेका थिए।

शुक्रबार सुदूरपश्चिमविरुद्ध खेल्ने

कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ। टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रो खेलमा विराटनगरलाई चार विकेटले हराएको थियो। तेस्रो खेलमा भने काठमाडौँ गोर्खाजसँग चार विकेटले पराजित भएको थियो।

तीन खेलमध्ये दुईमा जित निकालेको कर्णालीले अब शुक्रबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। उक्त खेलमा मिलर कर्णालीको टोलीबाट सहभागी हुनेछन्।