काठमाडौँ । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बुधबार पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक बोलाएको छ ।
सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएपछि उत्पन्न परिस्थितिसहित समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको आधिकारिक धारणा तय गर्न बैठक आह्वान गरिएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।
महामन्त्री पौडेलका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेतासमेत सहभागी हुनेछन् ।
‘पछिल्लो समसामयिक घटनाका विषयमा छलफल गर्न शीर्ष तहका पदाधिकारीहरूको बैठक बोलाइएको छ,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने ।
सरकारले प्रहरी नेतृत्वमा गरेको फेरबदलपछि कांग्रेसले यस विषयलाई कसरी लिने र पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा के बनाउने भन्ने विषय बैठकमा छलफल हुने बताइएको छ ।

















प्रतिक्रिया