रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने बन्न युवालाई राज कार्कीको आह्वान


नवलपुर । युवाहरूमा उद्यमशीलताको विकास गर्दै नवीन सोचलाई व्यावसायिक रूप दिने उद्देश्यले आयोजित ‘युवा उद्यमशीलता : सोचदेखि सफलतासम्म’ नामक विशेष अभिमुखीकरण कार्यक्रमको पहिलो दिन कात्तिक १७ गते नवलपुरको चोरमारा क्लस्टरमा सम्पन्न भएको छ।

कार्यक्रममा युवा अगुवा तथा उत्प्रेरक वक्ता राज कार्की मुख्य वक्ताका रूपमा सहभागी भएका थिए। उनले युवाहरूलाई स्वरोजगार, सीप विकास र उद्यमशीलतामार्फत आत्मनिर्भर बन्न प्रेरित गरेका थिए।

विगत केही वर्षदेखि देशका विभिन्न स्थानमा युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्दै आएका कार्कीले चोरमाराका युवाहरूमा देखिएको उत्साहले आफूलाई थप प्रेरणा मिलेको बताए।

कार्यक्रममा उनले सफलता भाग्यमा मात्र निर्भर नहुने उल्लेख गर्दै दृढ संकल्प, सकारात्मक सोच र निरन्तर मेहनतले लक्ष्य हासिल गर्न सकिने धारणा राखे। उनले युवाहरूलाई आफ्नै माटोमा सम्भावना खोज्दै उद्यम र व्यवसायमा अघि बढ्न आग्रह गरे।

चोरमारा क्लस्टरका युवाहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा कार्कीले अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारी तथा नगरपालिका परिवारप्रति आभार व्यक्त गरे।

नगरपालिकाको नेतृत्व र युवाहरूको सक्रियताले मध्यविन्दु क्षेत्रमा उद्यमशीलताको नयाँ वातावरण निर्माण गर्ने तथा स्वदेशमै आत्मनिर्भर बन्ने आधार तयार गर्ने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो।

सुटमालाका कार्यकारी निर्देशक एवं सीईओ तथा परम्परागत सीपमा आधारित युवा सञ्जालका अध्यक्षसमेत रहेका राज कार्कीको नेतृत्वमा सञ्चालित यो राष्ट्रव्यापी अभियानले आगामी दिनमा पनि युवाहरूलाई स्वरोजगार र उद्यमशीलताका क्षेत्रमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।