कार्यकाल १७ महिना बाँकी छँदै आईजीपीबाट हटाइए दानबहादुर कार्की


काठमाडौँ । नेपाल प्रहरीका ३३औँ महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले जिम्मेवारीबाट हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको छ । उनको स्थानमा डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको छ ।

२०८२ कात्तिक २४ गते आईजीपी बनेका कार्कीले करिब एक वर्ष मात्रै नेपाल प्रहरीको नेतृत्व गर्ने अवसर पाए । उनको कार्यकाल पूरा हुन अझै करिब १७ महिना बाँकी थियो । सरकारले बीचमै जिम्मेवारी परिवर्तन नगरेको भए उनी ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जाने थिए ।

गत वर्ष आईजीपी नियुक्तिका लागि भएको प्रतिस्पर्धामा कार्कीसँगै उनका ब्याचमेट डा. मनोजकुमार केसी पनि दाबेदार थिए । अन्ततः सरकारले कार्कीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो । अहिले भने उनै केसी कार्कीको स्थानमा नयाँ आईजीपी नियुक्त भएका छन् ।

कार्की २०५४ चैत १८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी सेवामा प्रवेश गरेको झन्डै तीन दशकपछि उनी प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा पुगेका थिए ।

जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेपछि भोलिपल्ट उनलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो । चुनौतीपूर्ण परिस्थितिका बीच प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागबाट उनी २०८२ भदौ २४ गते उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए ।

त्यसअघि २०८० सालमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका बेला कार्की जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए । उक्त प्रकरणको अनुसन्धान डा. मनोजकुमार केसीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा सुरु गरेका थिए । कार्कीले त्यस अनुसन्धानलाई साथ दिएका थिए ।

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र अभियोजनले त्यसबेला नेपाली राजनीतिमा ठूलो तरङ्ग ल्याएको थियो । अहिले प्रहरी नेतृत्वमा पुनः कार्की र केसीबीच जिम्मेवारी परिवर्तन भएको छ ।