नवनियुक्त आईजीपी डा. मनोज केसी गृह मन्त्रालयमा


काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसी गृह मन्त्रालय पुगेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रहरी प्रमुखमा नियुक्त भएलगत्तै उनी सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका हुन्।

गृह मन्त्रालयमा उनलाई गृह सचिव तथा उच्च सुरक्षा अधिकारीहरूले स्वागत गरेका छन्। मन्त्रालयमा आईजीपी डा. केसीलाई दर्ज्यानी चिह्न (फुली) प्रदान गर्ने तथा आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।

गृह मन्त्रालयको कार्यक्रम सम्पन्न भएपछि उनी नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्।

यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा पदस्थापन गर्ने निर्णय गरेको थियो। साथै, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. केसीलाई नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।

नयाँ नेतृत्व आएसँगै नेपाल प्रहरीको संगठनात्मक कमान्ड डा. केसीको हातमा पुगेको छ।