तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि बेच्दै सुन–चाँदीका सिक्का


काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुन तथा चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्ने भएको छ। राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट दुई दिनसम्म असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागिएको हो।

राष्ट्र बैंकका अनुसार आज र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवाग्राहीले सिक्का खरिद गर्न सक्नेछन्। तिहारमा लक्ष्मीपूजाका लागि प्रयोग हुने सुनको असर्फी तथा लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन बिक्री गर्न लागिएको हो।

बैंकले प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी उपलब्ध गराउनेछ। त्यस्तै, १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन एक–एक थान गरी बढीमा दुई थानसम्म खरिद गर्न पाइने व्यवस्था गरिएको छ।

सिक्का खरिद गर्न इच्छुक सेवाग्राहीले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।

सिक्का खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार असर्फी तथा मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण हुनेछ। मूल्य तय भएपछि मात्रै बिक्री प्रक्रिया सुरु गरिने बैंकले स्पष्ट पारेको छ।