एनपीएल : काठमाडौँले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दियो


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गोर्खाजले टस जितेर विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

काठमाडौँस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जित्दै विराटनगरलाई ब्याटिङका लागि आमन्त्रण गरेका हुन्। विराटनगरको कप्तानी राष्ट्रिय टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले गरिरहेका छन्।

आजको खेलका लागि विराटनगर किंग्सले आफ्नो पहिलो रोजाइको टोलीमा कुनै परिवर्तन गरेको छैन। अघिल्लो खेलमा मैदान उत्रिएको टोलीलाई नै विराटनगरले निरन्तरता दिएको छ।

यता, काठमाडौँ गोर्खाजले भने आफ्नो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ। काठमाडौँले मोहम्मद आदिल आलम, रिपोन मण्डल र स्मित पटेललाई पहिलो रोजाइबाट बाहिर राख्दै उनीहरूको स्थानमा साहिल पटेल, विल बोसिस्टो र सहान अराचिगेलाई मौका दिएको छ।

टस जितेर बलिङ रोजेको काठमाडौँ घरेलु मैदानमा विराटनगरलाई कम योगफलमा रोक्ने प्रयासमा हुनेछ भने विराटनगरले पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक स्कोर खडा गर्ने लक्ष्य राख्नेछ।